प्रधानमन्त्री पत्नी सीताको निधनको शोकमा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

बुधबार, २७ असार २०८०

काठमाडौं— प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनमा सुदूरपश्चिम प्रदेश सभा बैठकमा आज शोक बिदा दिइएको छ ।

आज बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज शोक बिदा दिने सहमति भएको हो । हिजोबाट प्रदेश सभामा बजेट माथिको छलफल सुरु भएको थियो । हिजो सभामुख भीम भण्डारीले आज दिउँसो ३ बजे सम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए । आज ३ बजेको बैठक शोक बिदाका कारण स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।

सचिव बोगटीले भोलि बिहान ८ः३० बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिए । भोलि नै दिउसो ३ बजे पनि बैठक आह्वान गरिएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाहीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । हिजोबाट बजेट माथिको छलफल सुरु भएको छ ।