दबाव र प्रभाव होइन, प्रहरीले कानुन, तथ्य र प्रमाणलाई हेरेरै मात्र काम गर्छः गृहमन्त्री
काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाव र प्रभाव होइन, प्रहरीले कानुन, तथ्य र प्रमाणलाई हेरेरै मात्र काम गर्ने बताएका छन् ।
गृह मन्त्रालयमा आज ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले संविधान, कानुन र आफ्नो जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र माहतहका सङ्गठन अगाडि बढाइने पनि बताए।
उनले गृह मन्त्रालय मातहतको संगठनको समग्र सुधार योजन बनिरहेको बताउँदै नेपाल प्रहरी र अनुसन्धान एकाइलाई कुनैपनि घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी ढंगबाट अनुसन्धान गर्न निर्देशन दिएको बताए।भ्रष्टाचार तथा अपराधसम्बन्धी कार्यको अनुसन्धान अगाडि बढाउन खोज्दा त्यसमा संलग्न विषयगत क्षेत्रबाट गुनासो आउने गरेको उनले बताए।
उनले अनुसन्धान जारी रहेको विभिन्न प्रकरणहरूमा दबाब र प्रभावबाट मुक्त रहेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताए। ‘अनियमिततामा संलग्न राजनीतिक, प्रशासनिक वा उद्योग व्यवसाय क्षेत्रका व्यक्ति पक्राउ पर्न लागे भने सम्बन्धित क्षेत्रका व्यक्तिले विरोध गर्न थालेपछि कारबाही कसलाई गर्ने?’, उनले प्रश्न गरे, ‘के गरिब र निमुखालाई मात्रै कारबाही गर्ने? धनीलाई छुट्टै, गरिबलाई छुट्टै ऐन कानुनको अपेक्षा गर्ने? त्यो हुँदैन।’
प्रहरी सङ्गठनभित्रको गुटबन्दीले सिङ्गो सङ्गठनलाई असर पारेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले फौजी सङ्गठनभित्रको गुटबन्दी अन्त्य गर्न मन्त्रालय लागेको बताए। “राजनीतिक नेतृत्वबाट गरिएको काम रोक्न, आर्थिक चलखेललाई रोक्न, शक्तिकेन्द्रको भूमिकालाई रोकेर ऐन र नियमलाई ठीक ढङ्गले व्यवस्था गर्न सक्यौँ भने मात्र सुरक्षा निकायले गतिका साथ काम गर्न सक्छ,’ उनले भने।