वामदेवले गरे सबै कम्युनिष्ट पार्टीहरूलाई एकै ठाउँमा आउन आग्रह

आइतबार, ७ साउन २०८०

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष वामदेव गौतमले सबै कम्युनिष्ट पार्टीहरूलाई एकै ठाउँमा आउन आग्रह गरेका छन्।

आइतबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गौतमले एउटै पार्टी बनाउन नसके सबै कम्युनिष्ट पार्टी सम्मिलित मोर्चा भनेपनि बनाउन आवश्यक रहेको बताए। मोर्चाको उद्धेश्य नेपाली जनताको समृद्धि र संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माण हुने गौतमको भनाइ छ।

लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवादको स्थापना कम्युनिष्टहरूले मात्रै गर्न सक्ने गौतमले बताए। ‘संविधान बन्दा अनेकौं गरेर लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समृद्ध समाजवाद हामीले राखेका हौं। कम्युनिष्टहरूले राखेका हुन्। कांग्रेसीले त सम्झौता गरेका हुन्,’उनले भने।

उनले प्रचण्ड, माधव नेपाललगायतले थालनी गरेको मोर्चामा सबै आवद्ध हुनुपर्ने पनि बताए। मोर्चा बनाएर प्रचण्ड र माधव नेपालले राम्रो काम गरेको समेत उनको धारणा थियो। ‘तर दुई तीनवटा पार्टीमात्रै मिलेर मोर्चा बनाउने होइन सबैलाई ल्याउनुस्। सबैलाई ल्याउन सक्नुपर्छ,’ उनले भने।

मोर्चा गठनताका आफूले प्रचण्डसँग केपी ओली, मोहनविक्रम, मोहन वैद्य र माओवादी केन्द्रबाट फुटेर बनेका अन्य समूह र तीनका नेताहरूलाई पत्र लेखेर उनीहरू सबैलाई मोर्चामा आवद्ध गर्न आग्रह गरेको तर त्यसो हुन नसकेको बताए। गौतमले पुष्पलालको सपना साकार पार्ने हो भने सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा आउन जरूरी रहेको बताए।