कुनै फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुनेछः रवि
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिएका छन् ।
संसदको बुधबार बसेको बैठकमा समय लिएर बोलेका रास्वपा सभापति लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरे । ‘भरिया मात्र समाउनु थियो होला र ट्याक्सी मात्र समात्यो होला’ सुन तस्करी सेटिङमा भइरहेको भन्दै उनले भने, ‘भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्याउँथ्यो होला नि, मालिकलाई नै कर्याप झ्याप पार्न सकिन्थ्यो होला नि त? किन गरिएन?’
यो प्रकरणमा केही कर्मचारीको सरुवा मात्र गरिएको भन्दै उनले यो पुरस्कार हो कि कारबाही भनेर प्रश्न गरे । डामेर छोडेपछि सूचना लुकाउने अवसर मिल्ने भन्दै उनले गम्भीर हुन अनुरोध गरे । यसबारे आफूहरुले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै लामिछानेले भने, ‘गृहमन्त्रीले गम्भीर रुपमा लिएर सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न पाइँदैन ।’
भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणको जरा कहाँ छ भनेर सबैलाई थाहा भएको, तर सरकारले गिजोलेर मात्र छाड्ने गरेको उनले बताए । ‘भ्रष्टाचार विरुद्ध चालेको कदमलाई स्याबास भनेको फाइदाका रुपमा नलिइयोस्’ रास्वपा सभापति लामिछानेले चेतावनीको भाषामा भने, ‘जरासम्म पुग्ने साहस लिएको हो भने ठीक छ । फाइल खोलेको गन्न मात्र सुरु गरेको हो भने सरकारको दिन गन्न सुरु हुन्छ ।’