एनआईसी एशियाद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

शुक्रबार, १२ साउन २०८०

काठमाडौं— एनआईसी एशिया बैंकले QR कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ ।

बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डे आज एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकको QR कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्ने बताएका हुन् । उनले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरिएको पनि बताए ।

उनले भने, बैंकले ल्याएको यस नवीन प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको QR कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्नुहुनेछ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा नेपाल पे QR बाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको छ । QR कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर हजारौं मर्चेन्टहरू तथा लाखौं ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो डिभाइस क्रान्तिकारी सावित हुने विश्वास बैंकले लिएको छ ।