प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागियोः प्रधानमन्त्री

शुक्रबार, १२ साउन २०८०

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिएको बताएका छन्।

इटालीबाट स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको पत्रकार भेटघाटको क्रममा सो कुरा बताएका हुन् । उनले भने, ‘राजनीतिक उद्देश्यको लागि प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन।’

उनले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई स्पष्टीकरण दिने मौकासमेत नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौं भनेर पहिल्यै घोषणा गर्ने संस्कार बसेको पनि बताए।

‘यस्तो कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन। म यत्ति भन्न चाहन्छु,’ उनले भने। विमानस्थलमा सुन भेटिएको प्रकरणमा सांसदहरूले संसदमा बोल्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए।