कति आवश्यक छ नेपालमा ‘इच्छामृत्यु’को कानून ?

शनिबार, १३ साउन २०८०

जीवनको एक मात्र सत्य, जिन्दगीको अन्त्य, मृत्यु !, मृत्यु जस्तो सत्य अरू के होला जीवनमा ? मृत्युसित डर नभएकोले जीवनलाई माया कसरी गर्छ होला त ? मृत्यु कसैले चाहेर हुने कुरा होइन । मृत्यु नचिनेकोले जीवन कसरी चिन्छ र ? सोच्दापनि डर लाग्ने यो माया, विश्वास तोडेर सदाको लागि टाढा हुनुपर्ने । तर आजको समयमा प्राकृतिक मृत्युभन्दा स्वेच्छाले गरेको मृत्युको धेरै घटनाहरू सुन्न र देख्न सकिन्छ । प्रत्येक बर्ष विश्वमा झन्डै ८ लाख मानिसहरूले आत्महत्या गरी ज्यान गुमाउँछन । प्रत्येक २० सेकेण्डमा एक जनाले सुसाइड गर्छ ।

सानो देश, बुद्धको देश भएतापनि नेपालमा कहिले कसैको करकापमा परेर, त कहिले बलात्कार, हत्याहिंसा भएर पनि विभिन्न व्यतिको मृत्यु भएको छ । नेपालमा पनि धेरै आत्महत्याको बाटो रोजेको हामीलाई थाहा छ । नेपालमा हुने प्रत्येक १०० मृत्युमा १ आत्महत्या गरी मृत्यु हुन्छ । पहिलाको तुलनामा अहिले आत्महत्या गरी मृत्यु हुनेको संख्या पनि धेरै छ । मानिसहरू बिरामी भएर मर्नु न बाँच्नुको स्थितिमा पुगेर जीवनलाई घिसार्दै गर्दा आफूलाई ‘बाँच्नु भन्दा मर्नु’ निको ठान्छन् । जीवनभन्दा मृत्यु सहज लाग्छ । महाभारतको एक पात्र भीष्मलाई इच्छामृत्युको वरदान प्राप्त थियो । उनले हस्तिानपुर चारैतिरबाट सुरक्षित नहुदाँसम्म मर्दिन भनेका थिए । त्यसैले अर्जुनले बनाएको वाणहरूमा पीडा सहेर भएपनि सुतिरहेका थिए।

यस्तै अहिले इच्छामृत्यु गर्ने अथवा इच्छामृत्युको पनि धेरै अवधारण आइरहेको छ । इच्छामृत्यु मृत्युदण्ड दिने काम हो । यो शति जलाए जसरी कसैलाइ जिउदै मार्नु हो । यसले समाजमा धेरै नकारात्मक असर पर्ने देखिन्छ । अंग्रेजी दार्शनिक सर फ्रान्सिस बेकनले १७ औं शताब्दीको सुरुमा ‘इथुनेसिया’ भन्ने वाक्यांशको प्रयोग गरेका थिए । इच्छामृत्यु ग्रिक शब्द इयुबाट ब्युत्पन्न भएको हो, जसको अर्थ ’राम्रोमृत्यु’ हो । इच्छामृत्यु तीन प्रकारका हुन्छन् । स्वेच्छिक इच्छामृत्यु, सक्रिय इच्छामृत्युको एक रूप हो, जुन बिरामीको अनुरोधमा गरिन्छ । अनैच्छिक इच्छामृत्यु, जसलाई ‘दयाले मार्ने’ भनेर पनि चिनिन्छ, उसको पीडा र पीडा कम गर्ने उद्देश्यले अनुरोध नगर्ने बिरामीको ज्यान लिनु समावेश छ। गैर–स्वेच्छिक इच्छामृत्युमा रोगीले सहमति दिने स्थितिमा नभए पनि प्रक्रिया गरिन्छ ।

विश्वमा विभिन्न देशमा इच्छामृत्युको कानुन लागु भई सकेको छ । २०२२ मा बेल्जियममा २ हजार ९६६ जनालाई इच्छामृत्यु दिइएको छ। बेल्जियमकी एक महिलाले आफ्ना पाँच सन्तानको हत्या गरेपछि इच्छामृत्युको आग्रह गरेकी थिइन। बालबच्चाको हत्याको १६ वर्षपछि उनले ज्यान दिने निर्णय लिएकी हुन्। २००८ मा उनलाई आजीवन कैद सजाए तोकिएको थियो । २०१९ मा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई मानसिक अस्पताल सारिएको थियो । बेल्जियममा निको नहुने र सहन नसकिने शारीरिक मात्र होइन, मानसिक समस्या भएका व्यक्तिले पनि इच्छामृत्यु रोजे दिइने व्यवस्था छ । सोहि अनुसार उनले इच्छामृत्यु मागेकि थिइन तर मानिसले यसैगरी पहिला धेरै मानिसको हत्या गरेर पछि आफुले फेरि इच्छामृत्यु माग्नु कति न्यायोचित हुन्छ त  ?

लेखक : शुभेक्षा पन्त

लेखक : शुभेक्षा पन्त

स्पेनमा सन २०१९ मा भएको एक सर्भेक्षणले ९० प्रतिशत नागरिक इच्छामृत्युको पक्षमा भएको देखिन्छ । युरोपमा स्पेन अगाडि बेल्जियम, लक्जमबर्ग र नेदरल्यान्ड्सले इच्छामृत्युलाई कानुनी मान्यता दिइसकेका छन् । वैधानिक इच्छामृत्युले हल्याण्डमा गम्भीर बिरामीहरूको हेरचाहको गुणस्तरमा गिरावट ल्याएको छ। तसर्थ, कल्याणकारी राज्यमा इच्छामृत्युको भूमिका कुनै पनि रूपमा हुनु हुँदैन। क्यानडामा संसारमै खुकुलोमध्ये एक इच्छामृत्यु कानुन अवलम्बन छ , जसले नर्सलाई समेत यसलाई कार्यान्वयन गर्ने अनुमति दिएको छ । अरूदेशमा यो कार्य डाक्टरको रेखदेखमा मात्र गर्न पाइने प्रावधान छ । एलन निकोल्सले सन् २०१९ जुलाइमा इच्छामृत्युका लागि आवेदन दिएका थिए । जिउन नसक्ने कारणमा श्रवण शक्तिमा ह्रास मात्र आएको भनि इच्छामृत्यु दिने अस्पतालले भनेको थियो । कानको समस्या प्राणघातक नभएको र परिवारका सदस्यले, अस्पतालका कर्मचारीले अनुचित रूपमा उनलाई इच्छामृत्यु गर्न प्रेरित गरेको पनि आरोप लागेको थियो । यो अवस्थामा पनि इच्छामृत्यु दिन खोज्नु ‘मृत्युदण्ड’ दिनु हो ।

भारतमा सन् १९७३ मा मुम्बईस्थित एक अस्पतालमा कर्मचारीबाट बलात्कार भएपछि शानबागको मस्तिष्कमा गम्भीर क्षति पुगेको र उनलाई पक्षाघात भएको थियो। सन् २०१५ मा ४० वर्षभन्दा बढी समयसम्म अचेत अवस्थामा रहेकी अरुणा शानबागको मृत्युपछि भारतमा इच्छामरणबारे बहस सुरु भएको हो। तथापि उनलाई मर्न दिन गरिएका निवेदन अदालतले अस्वीकार गरेको थियो । गुजरातको भावनगर जिल्लाका ५००० भन्दा बढी किसानहरुले सरकारी विद्युत निगमले गर्न लागेको भूमि अधिकरणको विरोधमा संघर्ष गरिरहेका छन् । यी किसान परिवारले अधिकारीहरुलाई चिठ्ठी लेखेर इच्छामृत्युको माग गरेका थिए। किसानहरुले पत्रमा हामी इच्छा मृत्युको माग गर्छौँ किनकी अधिकारीहरुद्वारा हामीलाई आतङ्कवादीको जस्तो व्यवहार गरिँदैछ । यसैले सेनाको हातबाट हामीलाई मारियोस् भन्ने हाम्रो अन्तिम इच्छा छ ।

नेपालका अधिकांश जनता बाँच्नका लागि संघर्ष गरिरहेकाले राज्यले मर्न पाउने हक होइन, बाँच्न पाउने हकको रक्षा गर्न कदम चाल्नुपर्छ । नेपालमा इच्छामृत्युको वकालत गर्दै अभियान सुरु गर्ने व्यक्ति – पूर्व मन्त्री तथा विघटित हरियाली नेपाल पार्टीका अध्यक्ष कुबेरप्रसाद शर्मा हुन् । उनले वृद्धावस्थामा असाध्य रोग लागेकाहरूलाई यस्तो सुविधा हुनुपर्ने बताएका छन् । त्यस्तालाई इच्छाले मर्न दिने व्यवस्था युरोपका कतिपय देश र अमेरिकामा छ । नेपालमा पनि त्यस्तो गर्नु उपयुक्त हुन्छ । बाच्ने र मर्ने दुवै अधिकार मानिसहरूलाई हुनुपर्छ। यसलाई मौलिक अधिकारका रूपमा लिइनु पर्छ । मान्छेले पीडाहीन मृत्यु पाउनुपर्छ भन्ने बहस चलेको थियो । इच्छामृत्युको सुविधा दिँदा त्यसले नकारात्मक प्रवृत्ति आउन सक्दछ ।

यदि दीर्घकालिन रोग लागेको व्यतिले ‘म मर्न चाहन्छु’ भन्यो भने के गर्ने ? अति दुःख पाएर, कष्ट खपेर, अधकल्चो मरेर, अलिकति मात्र बाँचेर, धेरै मरेर जो थला परेका हुन्छन्, उनीहरूले मर्न पाउनुपर्छ । बाँच्न पाउने मौलिक अधिकार जस्तै मर्न पाउने पनि अधिकार हो । साह्रै असक्त, दिसा–पिसाबमा डुबेको बेला, औषधि–उपचारको संभावना टरिसकेको बेला उसले यदि जीवन भन्दा मृत्यु रोज्छ भने त्यसलाई हामीले सदर गरिदिनुपर्छ । यसैलाई ‘इच्छामृत्यु’ भनिएको हो ।

यस्तो अवस्थामा परिवारले कानूनी प्रक्रिया पूरा गरेर, चिकित्सा विधिको प्रयोगबाट सहज रूपमा उसलाई मृत्युवरण गराउन सक्छन् । अर्कोतर्फ आमाबुवा बूढाबूढी, असक्त, रोगी भएपछि छोराछोरीले उनीहरूलाई मेडिकल विधिबाट मार्न स्वीकृति दिन्छन् भने त्यो इच्छामृत्यु होइन । त्यो अपराध हो । इच्छामृत्युको आडमा कसैले आफ्ना वृद्ध आमाबुवा, असक्त परिवारका सदस्यलाई मर्नका लागि बाध्य बनाउँछ भने त्यो ठूलो अपराध हो । हरेक समाजको अपेक्षा स्वास्थ्यकर्मीबाट उपचार हो । त्यसैले, कुनै निको नहुने रोग भनेर इच्छामृत्यु दिनुमा कुनै तार्किक तर्क छैन । नैतिकता र न्यायको ह्रासको युगमा परिवारका सदस्य वा आफन्तहरूले बिरामीको सम्पत्ति उत्तराधिकारको लागि इच्छामृत्युको दुरुपयोग गर्ने सम्भावना छ। इच्छामृत्युको विषय सैद्धान्तिक रुपमा ठिक भए पनि अधिकांश मानिस बाँच्न चाहिरहेको अवस्थामा राज्यको ध्यान नागरिकलाई बचाउनेतर्फ नै लाग्नुपर्छ ।

इच्छामृत्यु माग गर्दै विभिन्न पश्चिमा मुलुकहरूमा पनि प्रदर्शन र कानुनी लडाइ हुने गरेका छन् । २१ औं शताब्दीमा इच्छामृत्युबारे बहस भइरहेको छ । तर हामीले राम्रो जीवन बाँच्न अभिप्रेरित गर्नुपर्छ तर कसैलाइ मर भन्न सक्दैनौं । लेखक पन्त नेपाल ल क्याम्पसकी विद्यार्थी हुन् ।