सुदूरपश्चिम सरकारलाई पूर्णता दिन ढिला नगर्न मुख्यमन्त्रीलाई देउवाको सुझाव
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिन ढिला नगर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई सुझाव दिएका छन् । हिजो भएको भेटघाटमा सभापति देउवाले अब सरकार विस्तारमा ढिला गर्न नहुने बताएका थिए ।
सुदूरपश्चिममा अहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन छ । कृषि मन्त्रालय विगत ७ महिना देखी मन्त्री विहीन रहेको हो भने पृथ्वी बहादुर सिंहको बझाङ दुर्घटनामा निधन भएपनि कानुन मन्त्रालय पनि मन्त्री विहीन भएको हो । अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले तत्काल दुवै मन्त्रालयमा मन्त्री नियुक्त गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छन् ।
सभापति देउवासँग मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेश बहादुर शाहीले भेटेका थिए । मुख्यमन्त्री शाहले सत्ता गठबन्धनका शीर्ष नेताहरू बिच चाँडै सहमति भए सरकार विस्तारमा सहज हुने सभापति देउवालाई बताएका थिए । देउवाले पनि छलफल र संवादको माध्यमबाट चाँडै सहमति गरेर सरकार विस्तारमा ढिलो नगर्न मुख्यमन्त्रीलाई सुझाव दिएका थिए ।
सरकार विस्तारको गाँठो फुकाउन काठमाडौँ पुगेको मुख्यमन्त्री सहितको टोलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्णायक छलफल गर्ने तयारी गरेको छ । भोलि प्रधानमन्त्री प्रचण्ड, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी र प्रदेश सरकार बिच ठोस छलफल हुने बताइएको छ । ‘रेशम चौधरी आज काठमाडौँ आउँदै हुनुहुन्छ भोली प्रधानमन्त्रीसँग उहाँ र हामी बसेर छलफल गर्ने कुरा भएको छ’ मुख्यमन्त्री शाहले जानकारी दिए ।