आरोप लाग्दैमा कारबाही गर्नै पर्छ भन्ने छैन, अदालतले दोषी ठहर गरे मात्रै गर्छौः प्रकाशमान सिंह

आइतबार, १४ साउन २०८०

काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेको खण्डमा मात्रै पार्टीले काराबाही गर्ने बताएका छन्।

आइतबार चितवनमा पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको बताए। उनले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमा समेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए।

पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको उनको भनाइ थियो। उनले भने, ‘पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो।’ कांग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उनले बताए। ‘निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा कांग्रेस रहेको छ। आफ्ना पार्टीका नेतालाई पर्दा कानुन लाग्नुहुँदैन भन्ने पक्षमा कांग्रेस छैन,’ उनले भने।