समाजवाद उन्मुख कानुन भए तापनि कार्यक्रम पुँजीवादी भयोः उमा भुझेल

आइतबार, १४ साउन २०८०

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ उमा भुझेलले ‘समाजवादउन्मुख कानुन, संविधान र राज्यप्रणाली भनिए तापनि कार्यक्रम पुँजीवादी भएको बताएकी छन् ।

आइतबार ललितपुरमा समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । भुजेलले संविधानमा मौलिक अधिकारका कुरा स्पष्ट लेखिएपनि कतिपय कुरा कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइन ।

‘समाजवाद उन्मुख कानुन, संविधान र राज्यप्रणाली भनिएको छ तर कार्यक्रम पुँजीवादी छ । व्यवस्था दलाल पुँजीवादी व्यवस्था छ । कानुन पनि दलाल पुँजीवादलाई सेवा गर्ने छ । अनि प्रचण्ड कमरेडले लागु गर्न खोज्दा लागु हुन्छ त?’भुजेलको प्रश्न छ । तर उनले आशावादी हुनुपर्ने भन्दै समाजवादी शिक्षा प्रणाली लागु गर्न कति सम्भव छ र सोचेअनुसार हुन्छ हुँदैन भनेर सोच्नुपर्ने बताइन् ।

उनले अहिलेको शिक्षा प्रणालीले वर्ग पैदा गर्ने भन्दै गरिबहरूले लाखौँ लाख तिरेर पढ्न नसक्ने अवस्था रहेकाले शिक्षा कतिपयका लागि व्यापार बनेको बताइन् । उनले श्रम र उत्पादनसँग शिक्षा जोडिनुपर्ने आवश्यकता रहेको भन्दै अहिलेको शिक्षा प्रणालीको अन्त्य गर्न जरुरी रहेको बताइन् ।