सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै सक्दैनः ओली
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै नसक्ने टिप्पणी गरेका छन्।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले घटनाक्रमहरूले सुन काण्डमा माओवादीको संलग्नता देखिएको र उनीहरूले घटनाक्रमलाई अन्यत्र मोड्न खोजेको आरोप लगाए।
‘गोदाममा रहेको साढे ९ किलो सुन हरायो, योभन्दा राज्यशक्तिको भद्दा दुरूपयोग के हुन्छ रु पूर्वप्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘गृहमन्त्री मातहतको मेसिनरीले के हेरेको रु यसमा गृहमन्त्रीको संलग्नता छ, यसै कारण गृहमन्त्रीको राजीनामा मागिएको हो।’
गृहमन्त्रीको संलग्नता भएकै कारण घटनाक्रमलाई अन्यत्र मोड्न श्रेष्ठले ‘टार’र ‘कोट’को कुरा गरेको ओलीको प्रतिक्रिया छ। ओलीले सरकारको जिम्मेवार मन्त्रीले अरूमाथि आरोप लगाउँदा पुष्टि गर्नुपर्ने धारणा राखे। अध्यक्ष ओलीले पार्टीमाथि भइरहेको चौतर्फी हमलाको सामना गर्न पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।