कोशीको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने
काठमाडौं— कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन्।
गौतमले मंगलबार(हिजो) सभामुख पदबाट राजीनामा दिएका थिए। सरकार बनाउन बहुमत पुर्याउन गौतमले सभामुखबाट राजीनामा दिएका हुन् ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको बताए। तर कसले कुन मन्त्रालय लिने भन्नेबारे टुंगो लागिसकेको छैन।
आङ्बोका अनुसार बुधबार बिहान ११ बजेपछि गठबन्धन दलको बैठक बसेर मन्त्रालयको टुंगो लगाइनेछ। उनले अहिले गठबन्धन दलबाट एक एक जनामात्रै मन्त्री बनाउने र विश्वासको मत लिएपछि अरू सदस्य थप्ने सहमति भएको आङ्बोले बताए।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा माओवादी केन्द्र, समाजवादी र जसपाको समर्थनमा मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री र मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजेका लागि तोकिएको छ।