सभामुखलाई दबाब दिई सरकारले नै संसद रोक्न लगायो: ओली

बुधबार, १७ साउन २०८०

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई दोषी देखाउन सभामुखलाई दबाब दिई सरकारले नै संसद रोक्न लगाएको आरोप लगाएका छन् ।

बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले सरकारले सांसदहरुले प्रश्न उठ्छ भनेर एमालेलाई दोषी देखाउन सभामुखलाई दबाब दिएर बैठक स्थगित गर्न लगाएको आरोप लगाएका हुन् ।

‘उहाँहरुले संसदमा आवाज उठछ भनेर अस्तिका दिन संसद चल्न दिनुभएन । हामीले संसद चलाऔं भनेका छौं, सांसदहरु बोल्नुहुन्छ, आवाजहरु उठाउनुहुन्छ, जनताको भनाइ भन्नुहुन्छ । सांसदले बोल्न पाउनुप¥यो । सरकार सांसदलाई बोल्न दिँदैन । सभामुखलाई दवाव दिन्छ कि तपाईँले सूचना टाँसेर संसद रोक्नुस् भनेर’, ओलीले भने ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्न्विटल सुन तस्करी भएको प्रकरणमा नेकपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । १० साउनको बैठकमा समिति गठनको माग गरेर एमालेले संसद अवरोध गरेको थियो । त्यसपछि १५ र १६ साउनमा बोलाएको बैठक पनि बस्न सकेन । एमाले अध्यक्ष ओलीले भने ती बैठक आफूहरुको कारण नभई सत्तापक्षकै कारण बस्न नसकेको दाबी गरे ।