एमालेले अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउँदै छः गोकर्ण विष्ट 

आइतबार, २१ साउन २०८०

काठमाडौं— नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताएका छन् ।

नेकपा (एमाले) गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन् । आर्थिक–सामाजिक रुपान्तरणमार्फत् मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरू जुटिरहेको उनको भनाई छ ।

सचिव विष्टले मुलुकमा व्यापार घाटा चुलिँदै गइरहेको भन्दै यस्तो बेला तत्काल राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्यमा जुटनुपर्ने आवश्यक्ता औंल्याए । विष्टले काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा विदेशिन बाध्य हुने अवस्था आएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी एमालेले योजना तर्जुमा गरिरहेको बताए । पार्टीको प्रचार तथा प्रसार कार्यलाई विश्वसनीय र भरपर्दो बनाउनु पर्नेमा उनको जोड थियो ।