पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री चन्द्रदेवले भने, ‘भ्रष्टाचार विरोधी अभियानमा पूरा समर्थन छ’

सोमबार, २२ साउन २०८०

काठमाडौं— ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री चन्द्रदेव जोशीले सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो पूरा समर्थन रहेको बताएका छन् ।

ललिता निवास प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्वभूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरिएको छ । आइतबार मात्र सर्वोच्च अदालतले निर्णय र निर्णय प्रक्रियामा संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । जसअनुसार तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईसमेत अनुसन्धानमा तानिने भएका छन् ।

तर, आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएपछि सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री जोशीले सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो समर्थन रहेको र अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् ।