प्रचण्डले दिए विपद व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन

मंगलबार, २३ साउन २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपद व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन्। प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिए। गएराति देखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी(पहिरो आएको छ।