सुनिल शर्मालाई राज्यद्रोहको अभियोगमा गिरफ्तार गर्न युवराजले गराए सरकारको ध्यानाकर्षण

आइतबार, २८ साउन २०८०

काठमाडौं— नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईले कांग्रेस सांसद सुनिल शर्मालाई राज्यद्रोहको अभियोगमा गिरफ्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

चौलागाईंले शर्मामाथि राजनीतिक कारबाही गर्न सत्ता सहयात्री नेपाली कांग्रेसको नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । आइतबार उनले शर्माका पछिल्ला क्रियाकलापलाई माफिया बहुलाएको संज्ञा दिएका थिए ।

चौलागाईले आफ्नो वक्तव्यमा भनेका छन्– गरिमामय सासंदको लोगो भिरेर ठगी र कीर्ते काण्डमा जो अदालतको तारिख धाइरहेको छ, उसले आफैंले मत हालेको, आफ्नै दलको समर्थन रहेको बहालवाला प्रधानमन्त्री र गृहमन्त्रीलाई सार्वजनिक रुपमा आतंककारी भन्छ भने उसको हैसियत वैचारिक, राजनैतिक र सांस्कृतिक रुपमा हरितन्नम हो । प्रतिनिधी सभा सदस्य सुनिल शर्मालाई एकातिर नेपाली कांग्रेसले राजनैतिक कारबाही गर्नुपर्छ भने अर्कोतिर राज्यद्रोहको अभियोगमा गिरफ्तार गरेर कारबाही गर्नु पर्दछ ।

शर्माले आइतवार विहानमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कांग्रेस र एमालेको सरकार निर्माणको पहल थाल्न आग्रह गरेका थिए । उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए देश तस्करहरुको अखडा बन्ने र उनीहरुको विरोध गर्नेलाई जेल हाल्ने दाबी समेत गरेका थिए ।