चुरोटमा लुकेको युवकको इज्जत !

बिहिबार, १४ चैत्र २०७५

काठमाडौँ – डाक्टर राजेन्द्र प्रसाद एकचोटि रेलमा चढेर कतै जाँदै थिए । उनको छेउमा बसेर कुनै नवयुवकले शानसँग चुरोटको सर्को उडाउन थाल्यो ।

चुरोटको धूवाँले खाने मानछेलाई भन्दा छेउछाउमा बसेकालाई बढी असर गर्छ । डाक्टर राजेन्द्र प्रसादलाई असह्य भयो । उनले खाक्खाक्–खुक्खुक गरे । तर नवयुवकले त्यसको ख्याल गरेन ।
पहिलो चुरोट सकिएपछि युवकले फेरी अर्को चुरोट सल्काएर त्यसरी नै धूवाँ फाल्न थाल्यो ।

हद भएपछि डाक्टर राजेन्द्र प्रसादले युवकतिर फर्केर भने—ए भाइ, यो चुरोट कसको ?
युवक निकै घमण्डी रहेछ । यात्रामा आफ्नो छेउमा मर्यादित मान्छे पनि बसेका हुन् सक्छन् भन्ने कुरासमेत उसलाई थाहा रहेनछ । उसले गर्वका साथ भन्यो—मेरो हो नि, अरु कसको हुन्छ ?
डाक्टर राजेन्द्र प्रसादले आफ्नो परिचय दिएर मुस्काउँदै भने—त्यसो भए यो धूवाँ पनि तिम्रै हो । आफ्नो धू्रवाँ आफैँसँग राख न । किन हामीतिर फालेको ?

राजेन्द्र प्रसादको कुरा सुनेर युवक लच्चित भयो । यात्रा अवधिभर उसले कुनै यात्रुसँग पनि ठाडो शिर हेरेन । तसर्थ आफ्नो कामले अरुलाई असर पुगेको छ छैन भनेर ख्याल गरिएन भने सार्वजनिक रुपमा लज्जित हुनुपर्छ । यसरी हामी पनि लज्जित नबनौँ ।