त्याग गर्ने हिम्मत गर्नुहोस्

सोमबार, ४ भाद्र २०८०

काठमाडौं – ‘तिमीलाई थाहा छ पहिला पहिला शिकारीहरूले बाँदरलाई कसरी पासोमा फसाउने गर्थे ?’ एकजना मानिसले आफ्नो बच्चालाई सोधे । बच्चाले आफूलाई जानकारी नभएको जवाफ दियो ।

‘सिकारिहरू बाँदरलाई रूखमाथि लखेट्नु वा तलबाट तीर हान्नको सट्टा, भुइँमा साँघुरो घाँटी भएको एउटा भाँडो राख्थे, जसमा बाँदरहरूको मनपर्ने खाना राखिएको हुन्थ्यो ।’ आफ्नो बच्चालाई विश्वस्त पार्दै ति मानिस भन्छन्, ‘यसरी जाल राखेर मानिसहरू पछि पछि हट्थे, लुक्थे, बाँदरलाई भाँडोको नजिक पुग्नको लागि पर्खिरहन्थे ।’

‘बाँदर आउँछ, मिठो खानेकुरा देख्छ । भाँडोभित्र भएको खाना खानका लागि टाउको छिराउँछ । खाना ज्यापेर, मुट्ठी बाँधेर बाहिर निकाल्ने प्रयास गर्दछ तर, साँघुरो घाँटीले बाँदरलाई आफ्नो हात बाहिर निकाल्नबाट रोक्छ । जति तान्दा पनि उ बाहिर निस्किने सम्भावना हुँदैन । खाना नछोडी बाहिर निक्लिने कुनै उपाय हुँदैन थियो ।’ बच्चालाई सम्झाउँदै भन्छन् ।

‘बाँदरले खाना छोडेर जानुको सट्टा, खानाको माया मान्छ । खाना कुनै पनि हालतमा छोड्ने पक्षमा हुँदैन । बाँदर जति प्रयास गर्दापनि निक्लिन सकिरहेको हुँदैन, त्यतिनै बेलामा शिकारीहरू नजिक पुग्छन् र आफ्नो खानाको आनन्द लिइरहेको बाँदरलाई समात्छन् ।’

आफ्नो बच्चालाई सम्झाउँदै उनी भन्छन्, ‘त्यो बाँदर जस्तो नबन्नु, जीवनमा सफलता प्राप्त गर्नका लागि त्याग गर्न सक्नुपर्छ । बाँदरले जस्तै खानाको लोभमा आफ्नो ज्यान फाल्नुहुँदैन । कहिलेकाहीँ भविष्यमा अझ राम्रो फल प्राप्त गर्नको लागि अहिले आफूसँग भएको कुरा त्याग्न सक्नुपर्छ ।