राप्रपालाई एउटा संसदीय समितिको सभापति दिने प्रधानमन्त्रीको प्रतिबद्धता

आइतबार, १० भाद्र २०८०

काठमाडौं— ‘सबैलाई समेटेर जान चाहेको’ भन्दै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा संसदीय समितिको सभापति दिने प्रतिबद्धता जनाएका छन् ।

मिनि पार्लियामेन्टका रूपमा चिनिने संसदीय समितिको सभापतिका लागि सोमबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ । १० वटा विषयगत समितिको नेतृत्वका आकांक्षीहरूले आज उम्मेदवारी दर्ता गर्ने गर्दैछन् । कांग्रेसले ३ वटा र माओवादीले २ वटा समितिको नेतृत्व पाउने गरी समझदारी भएको थियो । कांग्रेस–माओवादीको भागमा परेकामध्ये एउटा राप्रपालाई दिने प्रस्ताव प्रचण्डले गरेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द लिङदेनले संसदीय समिति सभापतिबारे प्रचण्डसँग कुराकानी गरेका थिए । उनी अहिले दुबईमा छन् । उनी उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक दिएर दुबई गएका हुन् । तामाङले हिजो साँझ प्रचण्डसँग संसदीय समितिबारे छलफल गरेका थिए । राप्रपा स्रोतका अनुसार प्रचण्डले राप्रपाका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई फोन गरेर एउटा सभापति दिन तयार रहेको बताएका हुन् ।

राप्रपाले कुन समिति पाउने भन्ने तय भइसकेको छैन । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एउटा संसदीय समितिको सभापति राप्रपालाई प्रधानमन्त्रीसँग सकारात्मक छलफल भएको बताए । यसमा कुनै लेनदेन नगरिएको उनको भनाइ छ ।

तर, राप्रपालाई समिति सभापति दिएवापत प्रचण्डले कोशी सरकारमा सहभागी हुन राप्रपालाई फकाउन खोजेको बताइन्छ ।