फेकनको पुर्व उपाध्यक्षको संयोजकत्त्वमा गठित एप्क्यानको आधिकारिक घोषणा आज हुदैं

मंगलबार, १२ भाद्र २०८०

काठमाडौं— स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को पुर्व उपाध्यक्ष प्रज्वल बस्नेतको संयोजकत्त्वमा विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) गठन भएको छ।

एप्क्यानले मंगलबार राजधानीको एभरेष्ट होटलमा औपचारिक उद्घाटनको तयारी गरेको हो। एप्क्यानलाई समग्र शैक्षिक परामर्श क्षेत्र र व्यवसायीको हकहितमा लड्ने संघको रुपमा स्थापित गर्न लागिएको संघका संयोजक बस्नेतले जानकारी दिए।

उनले भने, ‘शैक्षिक परामर्श क्षेत्रमा क्रियाशिल व्यवसायीलाई एकतावद्ध गरेर सातै प्रदेशमा शाखा विस्तार गर्ने योजनासहित एप्क्यानको जन्म भएको छ। अहिलेको बदलिदो परिवेश र यस समयमा परामर्श क्षेत्रले भोग्नुपरेका समस्या र चुनौतीको डटेर सामना गर्न व्यवसायीहरू एकत्रित भएका छौँ। यही विषयलाई मध्यनजर गर्दै सबैको सल्लाहमा नयाँ संघको रुपमा स्थापना भएको छ।ु

यस अघि परामर्श क्षेत्रमा भएका संघबाट देशभर छरिएर रहेका व्यवसायीको वृत्तिविकासमा हुननसकेका गतिविधिलाई अघि बढाउने उद्देश्यले यसको स्थापना गरिएको उनको भनाइ छ। उनले यस संघमा आवद्ध व्यवसायीहरू अनुभवि र लामो समयदेखि परामर्श क्षेत्रमा क्रियाशिल रहेकाले पनि यसले आफ्नो पहिचान स्थापित गर्नेमा जोड दिए।