नक्सा र सीमा विवाद कुटनीतिक वार्ताबाटै समाधान गरिनेछः परराष्ट्रमन्त्री

आइतबार, १७ भाद्र २०८०

काठमाडौं— परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नक्सा र सीमा विवाद कुटनीतिक वार्ताबाटै समाधान गरिने बताएका छन्।

ओखलढुंगामा कांग्रेस जिल्ला कार्यसमितिको सभाहलमा आइतबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री साउदले यस्तो बताएका हुन्। ‘हामी आफ्नो नक्सामा प्रतिबद्ध छौं, यसलाई धेरै विवाद गरेर अघि बढ्ने भन्दा पनि सबै देशसँग कुटनीतिक संवाद र छलफल गरेर विवादको समाधान गर्न चाहन्छौं,’ उनले भने, ‘सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ।’

‘नक्सा संसदबाट पास गरेपछि सम्बन्धित देशहरूमा गयो कि गएन भनेर मन्त्रालयमा बुझ्दा गइसकेको जानकारी पाइएन,’ उनले भने, ‘त्यसबेला जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको भने पनि त्यस्तो नोट गएकोजस्तो जानकारी प्राप्त भएन।’

चीनले हालै सार्वजनिक गरेको नक्साबारे यसअघि नै परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको पनि उनले बताए। गत अगष्ट २८ मा चीनले नेपालको भू–भाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।

सो विषयबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ– सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ।

मन्त्री साउदले सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्।