प्रधानमन्त्रीले चीन भ्रमणमा व्यापार घाटा कम गराउने विषयमा छलफल गर्ने छन्ः परराष्ट्रमन्त्री
काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणमा नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताका साथ छलफल गर्ने कुरा बताएका छन् ।
सोलखुम्बुमा सोमबार विहान पत्रकार भेटघाटमा मन्त्री साउदले व्यापार घाटा कम गर्न निर्यात बढाउन सकिने वस्तुका विषयमा छलफल हुने बताएका हुन् । चीनका राष्ट्रपति नेपाल भ्रमणमा आएका बेला प्रतिवद्धता गरेका अनुदानका राशिहरुको लागि योजना छुट्याउने गृहकार्यमा गरिरहेको साउदले बताए ।
भ्रमणमा नेपाल–चीन नाकालाई सहज बनाउने विषयमा पनि छलफल हुने उनले जानकारी दिए । ‘सिजनल नाकाहरुलाई पनि सहज बनाएर सीमा क्षेत्रको जीवन उपयोगी बनाउन चाहन्छौं,’ मन्त्री साउदले भने ।
प्रधानमन्त्रीको भ्रमणमा जलविद्युत् आयोजना, प्रसारण लाइन, कृषि क्षेत्र, सडक पूर्वाधार लगायतमा नेपालका छलफलका एजेण्डा भएको साउदले बताए ।