सरकारले सहमहामन्त्री यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास गरेको महामन्त्री थापाको आरोप

बिहिबार, २१ भाद्र २०८०

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् । ‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्,’ महामन्त्री थापाले भने ।

साथै, महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए । ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु- के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो?’ महामन्त्री थापाले प्रश्न गरे ।

प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँठाउँमा ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको उल्लेख गर्दै थापाले भने, ‘म आग्रह गर्न चाहन्छु । जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो ।’