निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत् राखिएको छः प्रधानमन्त्री

शुक्रबार, २२ भाद्र २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत् राखिएको जानकारी दिएका छन् ।

निजामती सेवा दिवस २०८० को अवसरमा आज बिहान सिंहदरबार परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । सोही समारोहमा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए । उनले आफूहरुको चासो सम्बोधन नभए सिंहदरबार घेर्ने चेतावनी समेत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा विधेयक पारित गर्दै संसदमा पेस गर्ने निर्णय गरेको थियो ।