टिकट बाँड्ने अधिकार दाईलाई दिइयो भने दाईले भाउजुलाई नै टिकट दिन्छः गगन थापा
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकट बाँड्ने अधिकार दाईलाई दिइयो भने दाईले भाउजुलाई नै टिकट दिने भएकाले आगामी महाधिवेशनबाट दाईले टिकट दिने परिपाटी बदल्नुपर्ने बताएका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसेमा पार्टीले आयोजना गरेको तीज विशेष कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘अन्तिममा गएर टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले भाउजुलाई नै टिकट दिन्छ,’ उनले भने।
त्यसो भए नदिने अवस्था कसरी बनाउनेरु महामन्त्री थापाका अनुसार एउटा अमुक दाइको मात्रै विषय नभई यो परिपाटी नै कसरी बदल्ने भन्ने विषय प्रधान हो। ‘तरिका छ। १५ औं महाधिवेशनबाट बदलौं। यो विषयमा हामी पैरवी गरिरहेका छौं,’ उनले भने, ‘सिन्धुपाल्चोकको क्षेत्र १ को सांसद को बन्ने भन्ने विषय माथि बस्ने कुनै अमूक दाइले होइन यही सिन्धुपाल्चोकको पार्टीको सदस्यहरूको मतदान हुन्छ त्यो मतदानबाट सबैभन्दा बढी मत पाउने व्यक्ति उम्मेदवार बन्छ।’
प्रत्यक्षदेखि समानुपातिक उम्मेदवार त्यसरी नै छानिने हो भने कांग्रेसका कुनैपनि नेताले दादागिरी देखाउन नसक्ने उनले बताए। ‘माथी आफूभन्दा ठूलो कुनै राजा महाराजाको संरक्षण भएर कसैले पनि जमिनमा खुट्टा टेक्न पाउँदैन। जमीनमा खुट्टा टेक्नका लागि तपाइँको घर नआइ तपाइँलाई जय नेपाल नभनी वा नढोगी हुँदैन। तपाइँलाई ढोग्नु भनेको प्रकारान्तरले राजनीति नेतातिर फर्केकोबाट उल्टाएर जनतातिर फर्काउनु हो,’ उनले भने।
त्यसो गर्न सके पार्टीभित्र न्यायको परम्परा सुरू हुने थापाले बताए। न्यायको आधारमा चलेको पार्टीले समाजमा पनि न्याय गर्ने सक्ने उनको भनाइ छ।