सरकारबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्य हुन सकेनः धनराज गुरुङ

आइतबार, २४ भाद्र २०८०

काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्य हुन नसकेको बताएका छन्।

‘तीन तहका सरकारबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्य हुन नसकेका कुरा आउने गरेका छन्,’ उनले भने, ‘केन्द्रको जनप्रतिनिधिको तर्फबाट म प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढ्न तयार छु।’

गुरुङले निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने बताए।

स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिबार वालिङमा आयोजना गरेको ‘पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य’ विषयक अन्तरक्राय अन्तक्र्रिया कार्यक्रममा मन्त्री गुरुङले विकासमा सबैको अपनत्व भए विकास दिगो र प्रभावकारी हुने बताए।

‘कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिन्छ,’ उनले भने। सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुरुप काम गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताए।

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले समाज रुपान्तरण गर्ने दायित्वका साथ निरन्तर लागिरहेको बताइन्। गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताए।