सबै कम्युनिष्ट एक भएर समाजवाद निर्माण गर्नुपर्छः प्रधानमन्त्री

आइतबार, २४ भाद्र २०८०

काठमाडौं— प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै कम्युनिष्ट एक भएर समाजवाद निर्माण गर्नुपर्ने बताएका छन् ।

आइतबार हेटौंडामा समाजवादी मोर्चाले गरेको प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन सबै कम्युनिष्ट बीचको एकतामा उनले जोड दिए ।

‘हामी सबै कम्युनिष्टले पटकपटक फुट्दा कति समस्या हुन्छ भन्ने बुझिसक्यौं । अब एक(अर्कालाई तिरस्कार, वहिष्कार नभई सत्कार गरेर कम्युनिष्ट एकता गर्नुपर्छ’, प्रचण्डको भनाइ थियो । फुट्दा र जुट्दाको दुवै अनुभवलाई लिएर अब नयाँ क्रान्ति सुरू गर्नुपर्ने उनले बताए । सरकारले अहिले सुशासनको लागि भ्रष्टाचार, अनियमितताको अन्त्य गर्ने अभियान सुरू गरेको बताउँदै उनले आफ्नो अभियानबाट केही प्रतिगामी तर्सिएको जिकिर गरे ।

‘प्रधानमन्त्रीले राम्रो काम गर्न खोज्दा अदालतमा मुद्दा हाल्ने काम भयो । यस्ता खाले समस्या समाधान गर्न सरकार डटेर लाग्छ’, प्रधानमन्त्रीले भने ।आफ्नो चीन र अमेरिकाको भ्रमणको तयारी उत्साहजनक भएको भन्दै उनले अब देश समाजवाद दिशामा अघि बढेको दाबी गरे ।