सरकारले अब भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिनुपर्छः पूर्णबहादुर खड्का
काठमाडौं— कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको अबको कार्यभार पूरा गर्न भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।
काठमाडौंको टुँडिखेलमा आज बिहान आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् । उनले भने, ‘सरकारको अबको कार्यभार पूरा गर्न भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबै जुट्नुपर्छ।’
उनले संविधानका आधारस्तम्भहरु क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएको बताए । अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको पनि उनले बताए । जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाई समतामुलक समाजको निर्माण गर्नु साझा दायित्व भएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ छ ।
संविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दि र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गरिएको उनले जानकारी दिए ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यूयोर्कमा र सभामुख देवराज घिमिरे आयरल्याण्डमा रहेकाले संविधान दिवसको मूल समारोहमा सहभागी छैनन् ।