कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग

शुक्रबार, ५ असोज २०८०

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ ।

‘नेपालमा अहिले शिक्षकहरुले आन्दोलन गरिराख्नसुभएको छ । उहाँहरुलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ संघ संस्थाको रुपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन’ कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा नेता गोपाल दहितले भने ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला कांग्रेसको बैठकमा नेताहरुले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिन नहुने बताएका हुन् ।

नेपाली कांग्रेस निकट शिक्षकहरुको पनि संघ छ । कांग्रेस निकट शिक्षकहरु नेपाल शिक्षक संघमा आवद्ध छन् । कतिपयले शिक्षकहरुले संघ बनाउन पाउने र पार्टी सम्बद्ध हुन पाउने मजदुर अधिकारको पक्ष भएको तर्क गरिरहेका बेला कांग्रेस नेता दहितले पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग राखेका हुन् ।

‘यदि नेपाली कांग्रेसले एउटा राष्ट्रिय सहमति बनाउन चाहन्छ भने यो युनियनहरु खारेजी गर्नुपर्छ’ उनले अगाडि भने, ‘उनीहरुलाई प्रोफेसनल, व्यावसायिक बनाउने इज्जतपूर्ण व्यावसाय गर्न दिने हो । प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन ।’

विश्वभरका विकसित मुलुकमा कुनै प्रकारका युनियन नरहेको नेता दहित भन्छन्, ‘नेपालमा हेर्ने हो भने हरेक क्षेत्रमा विकासको वाधकको रुपमा युनियनहरु पाइरहेका छौं ।’ नेकपा एमालेमा युनियन पार्टी संगठनकै रुपमा रहेको पनि कांग्रेस नेता दहितले स्मरण गरे । साथै, कांग्रेस नेताहरुले शिक्षकहरुको सेवा सुविधाको मागमा सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि पार्टी समेत निर्णय गरेर सरकारलाई भन्नुपर्ने माग राखेका छन् ।