सरकारमा बस्नु मात्र उपलब्धि होइन, लोकप्रिय हुने गरी काम पनि गर्नुपर्छः प्रदीप पौडेल
काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बस्नु मात्र उपलब्धि मान्न नहुने बताएका छन्।
सानेपामा आइतबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले कांग्रेस सरकारमा बसेकोले पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्ने बताए । ‘हाम्रा कुनै पनि साथी (मन्त्री) ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ,’ उनले भने, ‘सरकारमा बस्नु मात्र उपलब्धि होइन।’
सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न आग्रह गर्नुपर्ने बताए। ‘अघिल्लो केन्द्रीय समितिले विभिन्न निर्णय गर्यो। तर ती निर्णय प्रेस विज्ञप्तिमै सीमित हुनु भएन,’ सभापति देउवालाई आग्रह गर्दै पौडेलले भने, ‘सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो–यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्यो। गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन।’
उनले देशमा लगानीको वातावरण सिर्जना गरिनुपर्ने बताए। संसारभरबाट दुबईमा लगानी ओइरिएको चर्चा गर्दै उनले लगानी वातावरण नेपालमा पनि सिर्जना गरी रोजगारीको दिइनुपर्ने बताए।
मंसिरमा हुने कांग्रेसको नीति अधिवेशनले आशाको सञ्चार गर्नुपर्ने उनले बताए। ‘१६ औं पञ्चवर्षीय योजना कस्तो हुनुपर्छ हामीले त्यसबारे छलफल गर्नुपर्छ,’ उनले भने, ‘युवा विदेशिएको, परराष्ट्र नीति शिथिल भएको, आर्थिक अवस्था डामाडोल रहेको, बैंकमा पैसा भए पनि बजारमा नआएकोमा छलफल गरी दृष्टिकोण निर्माण गर्नुपर्छ।’
उनले बजार क्षेत्रका ३५ प्रतिशत सटर बन्द भएको र खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी भएको बताए। ‘सरकारले कुनै अनुगमन गरेको छैन,’ उनले भने, ‘महँगी नियन्त्रण गर्नुपर्छ।’