गरीबको सामान फालेर मात्रै फुटपाथको समस्या समाधान हुदैनः ओली
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरीबको सामान फालेर मात्रै फुटपाथको समस्या समाधान नहुने बताएका छन्।
काठमाडौंमा आजदेखि सुरू भएको एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले विकल्प दिएर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने बताएका हुन्। फुटपाथ व्यवसायीलाई विकल्प दिनुको सट्टा नगरप्रहरीले उनीहरूमाथि उल्टो ज्यादती गरिरहेको ओलीले बताए।
‘मान्छेहरू गाडिबाट ओर्लेजसरी नगरप्रहरी उत्रिँदैन। प्रहरी ओर्लिएजसरी नगरप्रहरी ओर्लिँदैन। गड्याकगुडक हामफाल्छ। सिठी फुक्न सुरू गर्छ। कहाँ कुदेको हो, गुटुटु कुद्छ। आतंक मच्चिन्छ। आयो आयो के आयो हुन्छ। कुदेपछि रिस उठेको बच्चाले जसरी सामान फाल्न थाल्छ,’ ओलीले भने।
गरीबले बल्लबल्ल जोडेको सामान फाल्दैमा समस्या समाधान नहुने उनले बताए। बरू विकल्प तयार नहुन्जेल बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म फुटपाथमा व्यापार गर्न दिन सकिने उनले बताए।
‘गरीबले बल्लबल्ल किनेर ल्याएको हुन्छ। फ्याँकेर, पोखेर समस्याको समाधान हुँदैन,’ उनले भने, ‘शहर सफा राखौं। बाटो खुल्ला राखौं तर मान्छे मारेर होइन। मान्छेलाई पेलेर होइन। मान्छेलाई रुवाएर होइन। कोही पनि नेपालीले रून नपर्ने खालको परिस्थिति बनाऔं।’
उनले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि उभिएर आन्दोलन गरिरहेको विषय पनि आफ्नो जानकारीमा रहेको बताएका छन्। तर यी सबै कुराको समाधान गर्न सरकारले नचाहेको पनि ओलीको आरोप छ।