सुन काण्ड छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन
काठमाडौं– सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पोखराका पूर्व कामु मुख्य न्यायाधीश आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थविज्ञका रुपमा किशोरजंग कार्की र प्रेमराज कार्की सदस्य रहेका छन् । आयोगले सुन पैठारी, तस्करी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन दिनेछ ।
२ साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ब्रेक सुमा लुकाएर ल्याएको सुन सिनामंगलबाट बरामद गरिएको थियो । ब्रेक सुबाट निकालेर गाल्दा उक्त सुनको तौल करिब ६२ किलो पाइएको थियो ।
उक्त घटनापछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको थियो ।