एकपटक पत्रकार भैसकेपछि जहिल्यै लेख्ने नसा भैरह्यो : पत्रकार शर्मा
काठमाडौँ – जब नेपालमा २०४६ सालको जनआन्दोलन पछि वाक स्वतन्त्रता प्राप्त भयो त्यो बेलादेखि मैले पत्रकारिता शुरुवात गरेको हो । मैले यो पेशा नै किन रोजे त भन्दा एकातिर मलाई लेख्ने कुरामा रुची थियो भने अर्कोतिर समकालीन पोलिटिक्सको ज्ञान पनि थियो । वास्तवमा त्यो वेला मलाई पत्रकारिताको धेरै ज्ञान पनि थिएन । इन्डीपेन्डेन्ट भन्ने एउटा अंग्रेजी पत्रिकामा मान्छे खोजिरहेको भन्ने थाहा पाए पछि,मैले त्यसमा काम गरे। त्यहिबाट पत्रकारिताको एबीसी भन्ने कुरा सिके । त्यो बेला पत्रकारितामा एउटैले सबै चिज गर्नुपर्थ्यो, लेख्नेदेखि, रिपोटिङ गर्ने र फिल्डमा जानेसम्म । मान्छे एकचोटी पत्रकार भैसकेपछि उ कहिल्यै पनि त्यसबाट अलग हुन सक्दोरहेनछ । लेख्ने नसा कहिल्यै हट्दैन रैछ। त्यसरी नै मेरो पत्रकारिताको जीवन शुरु भयो ।
एकपटक म बाढीको रिपोटिङको क्रममा पूर्वी नेपाल गएको थिए । त्यसक्रममा मलाई साँच्चै पत्रकारिता गर्ने हो भने काठमाडौंमा बसेर मात्र केहि नहुनेरहेछ भन्ने लाग्यो । त्यसका लागि देश बुझ्नुपर्छ, इस्यु बुझ्नुपर्छ भन्ने हिसावले म केहि समय विकासका कामहरुमा पनि लागे । तर त्यो गर्दाखेरी पनि कैहिल्यै लेख्न चाही छोडिन । यसक्रममा म केहि समय विदेश पनि गएँ । इण्डियामा, केन्या र बेलायतमा सिनियर म्यानेजमेन्ट डाइरेक्टरदेखि विभिन्न पोजिसनमा रहेर काम गरे । जहाँ काम गरेपनि मैले, जस्तो केन्यामा कामगर्दाखेरि त्यहाँ त्यो वेला इलेक्सन भैराखेको थियो, त्यसको कभरेज गरे । त्यसको साथसाथै मैले विकासका काम विशेषगरी मानव अधिकार, त्यो पनि महिलाको मानव– अधिकारको विषयमा केन्द्रित भएर धेरै काम गरे ।अन्य अफर जतिसुकै भए पनि मैले लेख्न छोडिन । जस्तो इण्डियामा म डाइरेक्टर भएर गएपछि मानिसहरु छक्क पर्थे ।
इण्डियामा नेपालीहरु प्राय: कुकु, वेटर, लिफ्ट म्यान प्रशस्त छन् । तर डाइरेक्टर पोजिसनमा धेरै कम हुन्थे । यसरी नै मैले केन्यामा पनि काम गरे । जहाँ काम गरे पनि नेपाल सम्बन्धि इस्युमा लेखी रहन्थे । मानवअधिकार र महिला अधिकारको क्षेत्रमा काम गर्दाखेरी साउथ एशिया लेवल, ग्लोवल लेबलका साथसाथै नेपालको विषयमा मुख्य फोकस्ड हुन्थे । मैले विकासको काममा जति गरेपनि मेरो लेखाइ छुटेको थिएन ।मैले विदेशी पत्रपत्रिकाहरूमा पनि लेखें । तर मन चाँहि जहिले पनि आफ्नो देश विकासमा नै हुँदोरहेछ । त्यो बेला नेपाली महिलाहरू विदेशको सिनियर लेबलमा बाहिर गएको थाहा हुने स्तरमा पनि थिएन अथवा नगण्य रूपमा नै थिए होलान् । त्यो चुनौति लिन मन थियो । लिए र आफ्नै देशमा काम गर्न मन थियो, पछि यतै आए ।
नेपाल आएपछि खोजपत्रकारिता केन्द्रमा लामो अवधिसम्म एडिटोरियल बोर्डमा भैयो । त्यसपछि बोर्डमा पनि रहें । म बच्चादेखि नै एकदमै पढ्ने विद्यार्थी । मलाई लेख्ने इच्छा पनि सानैदेखि थियो । जब नेपालमा प्रेस तथा वाक स्वतन्त्रता भयो, त्यो बेला देखि अंग्रेजी मिडियामा लेख्थे । अहिले त म नेपालीमा पनि लेख्छु, अंग्रेजीमा पनि लेख्छु । तर मैले मेरो जर्नामिज्म अंग्रेजीबाट नै शुरुआत गरेको थिएँ । पत्रकारितामा आउनुको एउटा सन्दर्भ के हो भने मैले त्यतिबेला पोलिटिक्स बुझेको थिएँ । पत्रपत्रिका पढ्दा खेरी यो रिपोटिङ र यो एनालाइसिस त मैले पनि गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यो वेला मलाई लेख्न एकदमै इच्छा हुन्थ्यो । हुनतः मैले पढेको साइन्स हो । त्यो वेला कक्षा १० सम्म बायोलोजि पनि पढाइरहेको थिए मैले । फेरि इन्डीपेन्डेन्टमा काम गर्दै गएपछि सम्पादकको तहसम्म पुगे र काम गरे, अग्रेजी मिडिया, त्यो पनि प्राइभेट सेक्टरको मिडियामा । मेरो लेख्ने रुची धेरै नै थियो । राजनीतिमा पनि चाख थियो । बरु पछि काम गर्दै जादा लैङ्गिक समानता र सामाजिक समावेशिकरणमा लेख्ने मात्रै होइन रिसर्च पनि गरेको छु तर हरेक कुरा पोलिटिक्सको एङ्गलबाट शुरु हुन्थ्यो । र यतिबेला पनि क्राइम सम्बन्धि स्टोरी धेरै गरेको छु ।

नेपालका पत्रकार कुनै न कुनै रूपमा राजनीति आस्थार विचारसँग आवद्ध छन् । मेरो पत्रकारिताको शुरुवालदेखि अहिलेसम म कुनै पनि पार्टीसँग आवद्वता छैन । तर नेपालमा २०३६ सालमा भएको आन्दोलन, पञ्चायति व्यवस्था विरुद्धको आन्दोलन कसरी भएको थियो भन्ने बारे नजिकबाट देखेको थिएँ । त्यसबेला मैले एसएलसी पास गरेको हुँ । त्यो परिस्थितिको फेस गरेको अनुभूति छ । मेरो बुवा पोलिटिक्समा आवद्ध हुनुहुन्थ्यो । वास्तवमा उहाँ सुप्रिम कोर्टको लयर्स हो । उहाँले गरेको पोलिटिक्स देखेको, पञ्चायत विरुद्वको आन्दोलन नजिकबाट देखेको र म अध्ययनशील भएकोले पनि पोलिटिक्स बुझेको थिएँ । मैले लेख्दाखेरी त्यतिबेला इण्डिपेन्डेण्ट पत्रिका अंग्रेजीमा र पोलिटिक्समा आधारित थियो । त्यो वेला अलिबढी मिशन जर्नालिज्म थियो । त्यो देखेको र बुझेको भएर मैले जर्नालिज्म सुरु गरेको हो । म कुनै राजनीतिक पार्टीसँग अफिलिटेड कहिल्यौं पनि थिइन र अहिले पनि छैन ।
पत्रकारिता अथवा खोजपत्रकारिता गर्ने हो भने त्यो एकदमै जोखिमको काम हो । त्यो नेपालमा हो या विदेशमा जहाँ पनि जोखिम हुने हुरा हो । मैले १९९३ मा वीरगञ्जमा ड्रग स्मलिङको स्टोरी गरेको थिए । बास्तवमा मेरो खोज पत्रकारिताको शुरुवात नै त्यो बेलादेखि भएको थियो । नेपाल – भारतको सिमामा ड्रग्सको एकदमै मुभमेन्ट हुनेरहेछ । त्यो बेला मैले दुबै साइडको प्रहरीको मद्धत लिएर, ठाउँ–ठाउँमा गएर इन्फर्मेशन लिएर, त्यो स्टोरी तयार पारेको थिए । जर्नालिज्मबाट करिअरको सुरुवात भएपनि म विकासका काममा पनि लागे । जब विकासमा काम गर्न थाले मैले के देखे भने मान्छेको पीडा धेरै हुँदोरहेछ । विशेष गरि लैंगिक, सामाजिक र सिमान्तकृत वर्गमा धेरै पीडा भएको पाए । तर त्यो सबैमा हुँदोरहेछ । त्यसक्रममा नै मैले विकास र अधिकारको कुरा बुझ्न पाए । पत्रकारिताको क्रममा विदेशमा काम गर्दा र आफ्नैे देशमा काम गर्दा फरक चाही के हुँदोरहेछ भने यहाँ सबै चिनेको हुन्छ ,जस्तो मानव तस्करीको स्टोरी गर्नुपर्दा हामीले थाह पाएको प्रुफ हामीसँग छ भने त्यो मान्छेको नामै हामी लेख्न सक्छौं । तर लक्जम्बर्ग, फिण्ल्याण्ड जस्ता यूरोपियन कन्ट्रीमा हामी त्यसो गर्न सक्दैनौं ।
म त्यहाँको पुलिसदेखि सोसल क्षेत्र सबैतिर गए तर उनीहरुले मान्छेको प्राइभेट प्रोपर्टी र इन्फरमेशन दिदै दिँदैनन । उनीहरुबाट इन्टरफेस निकाल्न धेरै गाह्रो । तर तरिका र नेटवर्क हुने हो भने फ्याक्ट निकाल्न सकिन्छ । यसरी काम गर्दा हामीले त्यो देशको ऐन–कानून अनुसार पनि लेख्नुपर्ने हुन्छ । हाम्रो देशको ऐन– कानून अनुसार लेखेर मात्र हुँदैन । उनीहरुको पनि मान्नुपर्छ । विदेशमा रहेका नेपाली कामदारहरूलाई फाइदा गराउने हो भने त्यहि देशमा, त्यो स्टोरीले तहल्का मच्चाउने हो भने पो त्यहाँको सरकारले हेर्छ र काम पनि गर्छ । त्यसैले यो मेरो ठूलो सिकाई पनि हो । मानव तस्करी सम्बन्धि काम गर्दा वास्तवमा जुन देशमा भैराखेको छ र जुुन देशका मान्छे त्यहाँ पुगेका छन् उनीहरु दुईटै देशको ऐन कानून पनि बुझ्नुपर्ने हुन्छ ।
मैले राजनीति बिटमा रहेर पनि काम गरेको थिए । राजनीति विषयमा नै लेख्थें पनि । तर पछि जब देश र जनताको इस्यु बुझ्न थाले आखिर यो सबै कुरा राजनीति नै हो जस्तो लाग्यो। जस्तो महिला असमानताको कुरा गर्ने हो भने त्यो पनि राजनीति नै हो। यसमा राजनीति नजोडिकन कुनै कुरा पनि अगाडि लिन नसकिदोरहेछ । नेपालमा महिला पत्रकारिताको कुरा गर्ने हो भने जतिबेला मैले लेख्ने गर्थे २०३६ तिर, त्यतिबेला अंग्रेजीमा लेख्ने, अंग्रेजी पत्रकारितामा एडिटर लेवलसम्म पुग्ने महिला बास्तवमा त्यो बेला म मात्रै थिएँ । कतिपय सम्मेलनामा जाँदाखेरी त म एक्लै हुन्थे,त्यो वेला अंग्रेजी माध्ययमबाट पत्रकारिता गर्ने महिलाहरू छदै थिएनन् भन्दा हुन्छ । तर अहिले हामीले वीवीसी सुन्यौं भने स्टिन्जर, रिर्पोटर, झापादेखि हुम्लासम्म पनि महिलाहरू छन् । त्यो वेला र अहिलेको स्थिति हेर्ने हो भने नेपालमा धेरै महिलाहरु पत्रकारितामा छन् । र उनीहरूले नेपालमा रिपोर्टरदेखि डेस्क एडिटर हुँदै एडिटर नै हुनसक्ने क्षमता भएका महिला छन् भन्ने देखाइसकेका छन् ।

त्यति मात्रै नभई अन्तर्राष्ट्रिय जगतमा सीएनएन, अलजजिरा, बीबीसीमा नेपाली महिलाहरूले धेरै राम्रोसँग काम गरिरहेका छन् । तर नेपालभित्रै हेर्ने हो भने धेरै कठिनाई पनि छन् । यद्यपी यो ग्लोवल विषय पनि हो । जस्तो घरव्यवहार देखि लिएर काम गर्न जाँदा राती सुरक्षित हुने नहुने, वर्क वेशमा ह्यारेशमेन्ट हुने नहुने र आम सञ्चार माध्यमको मुख्य सम्पादकिय भूमिकामा छनौट हुँदाखेरी त्यो भित्रभित्रैबाट तय हुने गर्छ । त्यो कनेक्सन धेरैजस्तो पोलिटिकल र प्रकाशकहरुको नेटवर्क तथा एउटा सर्टेन ग्रुप अफ मेलसँगको नेटवर्कको आधारमा तय हुन्छ । यसको मतलव नेपाली महिलाहरू त्यो लेवलसम्म पुग्न नसक्ने भन्ने होइन ।
मलाई कहिल्यै पनि नेपाल छोडेर विदेश बस्ने इच्छा आएन । हुनत मलाई जब अफर धेरै चोटी आएको थियो । मैले पत्रकारिता गर्दाखेरी इन हाउसबाटै शुरु गरेको हो । तर पछि गएर थम्सिङ फाउण्डेशनको कार्यक्रमद्वारा एउटा ट्रेनिङ प्राप्त गरें । मलाई जहाँसम्म लाग्छ म नै पहिलो नेपाली जर्नालिस्ट हो, जसले प्रीन्ट जर्नालिस्ट अवार्ड पनि पाएँ । त्यो वेला मलाई ब्रीटिस पेपरमा जब अफर पनि भएको थियो। मलाई यो कहिल्यै पनि इच्छा भएन। एक त यतै केहि गर्छु भन्ने इच्छा पनि थियो, र पारिवारिक संरचना पनि त्यस्तै थियो।
त्यतिवेला मलाई बाहिर बस्न मन लागेन र पछि बरु केहि वर्ष युकेमा जब गरे ,केन्यामा गरे, इण्डियामा पनि गरे। तर मेरो जहिल्यै पनि आफ्नो बेश नेपाल नै भैइ रह्यो। किनकि यहाँ गर्न सकिने धेरै चिजहरु छन। वास्तवमा हेर्ने हो भने मैले एसएलसी पास गरेको बेला र आहिले आकाश जमिनको फरक पाउछु। यसको मतलव जनताले चाहेमा देशमा धेरै विकास गर्न सकिन्छ, धेरै परिवर्तन ल्याउन सकिन्छ, परिवर्तन त हामीले ल्यायौ तर विकास ल्याइसकेका छैनौं । विकास ल्याउनका लागि सक्षम मान्छे वा मानव श्रोतको जरूरत पर्छ। खाली प्राविधि मात्रै भएर हुँदैन। त्यसैले त्यो श्रोतको एउटा अंश हुन मलाइ पनि इच्छा छ ।
पहिला मिसन जर्नालिज्म हुन्थ्यो, त्यो वेला संसारभरी नै भैरहेका गलत प्रथाहरुलाई हटाउनका लागि कुनै सिभिल मुभमेण्टको साथ लिएर निरंकुश शासकहरु हटाउन मिसन जर्नालिज्म हुन्थ्यो तर वास्तवमा जर्नालिज्म एउटा पेश हो। पेशा व्यवसाय हो। हरेक व्यवसायको आफ्नै अनुशासन हुन्छ, त्यसरी नै पत्रकारितामा पनि हामीले त्यसको अनुशासनमा रहेरै काम गर्नुपर्छ। नेपालमा व्यवसायीक जर्नालिस्ट हुनुहुन्छ, इन्टरन्यासनल रूपमै नाम कहलिएका पत्रकाहरु पनि हुनुहुन्छ ।यसकासाथै ठूलो हिस्सा अहिले पनि बिरोध गर्ने उदेश्यले लेख्ने, अनि अहिले सरकार वा कतिपय नीजि संस्थाहरूले वितरण गर्ने पुरस्कारहरुमा पनि आफ्ना पार्टी सम्बद्द हुन वा होइनन, आफुलाई बचाउका लागि लेख्ने हुन् वा होइन भन्ने कुरालाई हेर्ने चलन देखिएको छ।अथवा आफ्नो फाइदाका लागि मात्रै काम गर्ने पत्रकारित देखिन्छ। यो राम्रो कुरा होइन। त्यो वास्तवमा पत्रकारकारिता नै होइन भन्दा हुन्छ। पत्रकारिता भनेको त सत्य-तथ्यलाई बाहिर निकाल्ने कुरा हो। त्यो कुरामा डराउनु पनि हुदैन ।पत्रकारले आफ्नो सूचनाको स्रोतलाई सुरक्षित गर्नुका साथै पेशप्रति स्वच्छ हुन सक्नुपर्दछ।
नेपालमा रेडियो पत्रकारिता दक्षिण एशियामा नै राम्रो छ। अरु क्षेत्रमा पनि राम्रो छ। राम्रा उदाहरणहरु पनि छन्, नराम्रा उदाहरण पनि छन्। अहिले सोसल – मिडियाको जमानामा भड्काउने , घृणा पैदा गर्ने भन्दा पनि कसरी विकासमा सहयोगी बन्न सकिन्छ भन्ने कुरामा ख्याल गर्न जरुरी छ। समाचार सम्प्रेषण गर्दा फ्याक्ट चेलिङ नगरी राख्ने समस्या पनि छ। अनलाइन पत्रकारितामा हतारमा समाचार हालिदिने, पाठकले प्रतिक्रिया जनाएपछि सच्याउने चलन छ ,यो गलत तरिका हो। फ्याक्ट चेकिङ पत्रकारिताको बेशिक कुरा हो। यसमा मेहनत गर्नुपर्छ।