प्रचण्डले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेः पृथ्वीसुब्बा गुरुङ

सोमबार, १५ असोज २०८०

काठमाडौं— नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेको बताएका छन् ।

एमाले गण्डकी प्रदेशको अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको आरोप पनि लगाए।

उनले भने, ‘कांग्रेस शोसक, कमिसनखोर र भ्रष्टाचारीहरुको पार्टी हो । आज प्रचण्ड सरकारमार्फत् कमिसनखोर र तस्करहरु समातेको नाउमा कमरेड प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरे । यो मुलुकको प्रधानमन्त्रीसँग शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरे । हामी सबैलाई थाहा छ । अनुसन्धानको सुइरो एउटा पूर्वप्रधानमन्त्रीको पत्नीतर्फ फर्किन्छ अनि सरकार चुप लागेर बस्छ । सरकार टिकाउन अपराधि लुकाउने कुरामा सम्झौता गरेर सरकार चलिरहेको छ ।’

उनले अहिले सरकारले भ्रष्टाचार विरोेधी अभियानको नाममा नौटंकी गरिरहेको टिप्पणी गरे । उनले माधवको पार्टी धेरैदिन नटिक्ने दाबी गर्दै एमालेमा प्रवेश गर्नसमेत आग्रह गरे ।

उनले ललिता निवास प्रकरणको फाइल फेरि खुल्ने दाबी गरे । उनले भने, ‘लतिला निवास प्रकरणमा छानबिनको ढोका बन्द भएको होइन। यो जनताले फेरि उठाउँछन् । बाबुराम भट्टराई होस् कि माधव नेपाल । जनताको छानविनको कठघरामा उहाँहरु उभिनैपर्छ ।’

उनले अहिलेको गठबन्धन फुटाएर सरकार परिवर्तन नगरी अहिलेको विकृति अन्त्य नुहुने बताए ।