समाजवाद भन्ने विषय मात्र होइन, यो लागु गर्ने विषय हो : भरत सी
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले समाजवाद भन्ने विषय मात्र नभएको बताएका छन् । बिहीबार सुर्खेतमा आयोजित वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरिक्रिया कार्यक्रममा बोल्दै भरत सीले सामाजवाद भन्ने विषयमात्रै नभएर लागु गर्ने विषय भएको बताएका हुन् ।
नेपालका सबैजसो राजनीतिक दलहरुले सामाजवादको विषय आफ्नो रणनीति उद्येश्य बनाएको भन्दै यो विषय भनेर मात्र नहुने बताउ । ‘नेपाली कांग्रेसले समाजवाद भन्छ, एमाले कम्युनिस्ट भएपछि समाजवाद भन्ने भइहाल्यो, माओवादीले त्यसकै लागि जनयुद्ध लडेको पार्टी हो ।’, कार्यक्रमलाई सम्बोधन गर्दैै उनले भने, ‘अरु त अरु राप्रपाले पनि प्रजातान्त्रीक समाजवाद भनेको छ । मद्येशवादी दलहरुले त नाम पनि समाजवादी राखेका छन् ।’
सबै पार्टीहरुले समाजवाद भन्ने तर लागु नगर्ने प्रबृत्तिको अन्त्य गर्दै समाजवाद लागु गर्न जनदवाव दिनुपर्ने उनको भनाई थियो । ‘सबै पार्टी समाजवाद भन्छन् । समाजवादबारेको व्याख्या आफ्नो आफ्नै होला । बुझाई आफ्ना आफ्नै होलान तर त्यसलाई एकै ठाउँमा ल्याउनु पर्छ ।’, उनले भने, ‘समाजवाद भन्ने कुरा होइन लागु गर्नुपर्छ । यो पुजा गर्नेृ विषय होइन । छलफल गरौं शिक्षामा के हो, स्वास्थ्यमा के हो, विकास निर्माणमा समाजवाद के हो, कार्यकर्ता व्यवस्थापनमा समाजवाद के हो, नेता व्यवस्थापनमा समाजवाद के हो, अन्तराष्ट्रिय नीतिमा समाजवाद के हो, अर्थ नीतिमा समाजवाद के हो, राजनीतिमा समाजवाद के हो ? यो चाहियो नी !’
उनले समाजवादमा हुने राज्य संरचनाको विषयमा भने छलफल गर्न सकिने बताए । ‘प्रत्यक्ष निर्वाचित प्रणाली हुने की, विज्ञहरुको मन्त्रीपरिषद् हुनेकी यो विषयमा छलफल गर्न सकिन्छ । तर समाजवादी मोडेलको संरचना हुनुपर्छ ।’, उनले अगाडि भने, ‘भन्नेबेलामा समाजवाद भन्ने अनि दलला संसदीय व्यवस्थाभित्र छिरेरे समस्या समाधान गर्न खोजियो भने त्यो हुँदैन । एउटा कार्यकारी सच्याएर, निर्वाचन प्रणाली सच्याएर केही हुँदैन । पहिला समग्र प्रणाली सच्याउनु पर्यो ।’
दलला पुँजीवादले मान्छेलाई परनिर्भर बनाएको भन्दै जतिसक्दो छिटो समाजवाद ल्याउनुपर्ने उनको तर्क थियो । ‘पहिला हामीले सामुहिक श्रमबाट गाउँका सम्पूर्ण समस्याहरुको समाधान गथ्यौं । अहिले आप्नो आँगन भत्कियो भने पनि सरकारसँग राहत माग्न जान्छ मान्छे । दलाल पुँजीवाद भनेको यही हो ।’, उनले भने, ‘दलाल पुँजीवादलाई ढालेर समाजवादी व्यवस्था निर्माण गरौं । समाजवादको मोडेल कस्तो हुने भन्ने विषयमा सबै एकै ठाउँमा बसेर छलफल गरौं ।’
कार्यक्रममा वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवादका विषयमा भरत सीले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा केन्द्रीत भएर विभिन्न क्षेत्रका विज्ञहरुले छलफल गरेका थिए ।