रिगलको कैद छुट फिर्ता गरी जेल चलान गर्न माग गर्दै महिला अधिकारकर्मीहरूद्वारा विरोध प्रदर्शन

बुधबार, २४ असोज २०८०

काठमाडौं— महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा कैद छुट पाएका योगराज ढकाल (रिगल)लाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् ।

बुधवार महिला अधिकारकर्मीहरूले कैद छुट फिर्ता गरी ढकाललाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनलाई कैद मिनाहा दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छिन् । उनीहरुले चेतन मानन्धरको आत्मालाई शान्ति दिन माग गर्दै शान्तिपूर्ण खबरदारी विरोध र्‍याली गरेका छन् ।

नेपालगन्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई सरकारले संविधान दिवसको अवसर पारेर बाँकी कैद मिनाहा गरेको थियो । रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगलविरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाऊ आदेश जारी गरिसकेको छ ।

कारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको धज्जी उडाएको बताइन् । त्यस्तै अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताइन् । उनले कैद मिनाहा दिने काम फिर्ता गर्नुपर्ने बताइन् ।