प्रचण्ड सरकारले अपेक्षित काम गर्न सकेन अब कांग्रेस नेतृत्वमा सरकार बनाउनु पर्छः सञ्जयकुमार गौतम
काठमाडौं— नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले भने, ‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकास को काम नगर्ने, महंगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खाली सत्ताको लुछाचुँडीमा रहने हो भने ‘।’
प्रचण्ड नेतृत्वको सरकारको विकल्प आवश्यक रहेको बताउँदै कांग्रेस सांसद गौतम अगाडि भन्छन्, ‘यही गति र यही मतिमा चल्ने हो भने यस ९सरकार०ले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन । यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गरौं समयमै ।’
कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएका उल्लेख गर्दै उनले संविधानको रक्षाका लागि समेत राष्ट्रिय सरकार आवश्यक रहेको बताए । ‘कांग्रेस सबैभन्दा ठूलो दल हो । सबै मिलेर एकपल्ट राष्ट्रिय सरकार बनाऔं । होइन भने क्रान्ति र परिवर्तन सबै सिद्धिएर जान्छन् । त्यसले कहाँ पु¥याउँछ थाहा छैन’ उनले भने ।
राष्ट्रिय सरकार बनाएर संविधानमा आवश्यक संशोधन गर्ने, निर्वाचन प्रणाली र संघीयता कार्यान्वयनको सवालमा सोच्न आवश्यक रहेको उनले बताए । ‘होइन भने दुर्घटनालाई कसैले रोक्न सक्दैन, यो संकेत देखिइसक्यो’ उनले भने ।