मन्त्रीको सेटिङमा साइप्रस पठाइदिने भन्दै रकम अशुल्दै चितवनको जेभियर एजुकेशन, मन्त्रालयमा पर्यो ठगीको उजुरी

शुक्रबार, २६ असोज २०८०

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईसँग आफ्नो राम्रो सम्पर्क भएको भन्दै चितवनको जेभियर इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीसँग रकम अशुलेको पाइएको छ । मन्त्रीसँग राम्रो चिनजान भएकाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएरै साइप्रस अध्ययनका लागि पठाइदिने भन्दै जेभियरका संचालक सुमन अधिकारीले प्रतिव्यक्ति १० लाख रुपैयाँ अशुलेको पाइएको हो ।

साइप्रस अध्ययनका लागि सरकारले तीन वटा शैक्षिक संस्थाहरुका लागि मात्र एनओसी दिने गरेको छ । तीन वटा बाहेकका कलेज तथा विश्वविद्यालयको पनि एनओसी मिलाइदिने र सहजै साइप्रस पठाइदिने भन्दै अधिकारीले प्रतिविद्यार्थी १० लाख रुपैयाँ उठाएको श्रोतले जनाएको छ । साइप्रसमा अध्ययनसँगै राम्रो आम्दानीसमेत हुने प्रलोभन देखाएर प्रतिव्यक्ति १० लाख रुपैयाँ उठाएको विद्यार्थीले बताएका छन् ।

‘करिब १ सय ५० जना विद्यार्थीबाट १० लाखका दरले १५ करोड रुपैयाँ अशुलेको हाम्रो जानकारीमा छ ।’, नाम उल्लेख नगर्ने सर्तमा एक विद्यार्थीले भने, ‘महिनामा २ लाखसम्म आम्दानी हुने, सत प्रतिशत भिसा लाग्ने, भारतको बाटो भएर पनि जान सकिने भन्दै पैसा मागेको थियो । हामीले होला त नी भनेर पैसा दियौं । तर यो त ठग पो रहेछ ।’

आफ्नो भिसा एप्लाई गर्न ढिलाई गरेपछि पैसा फिर्ता माग्दा नदिएको विद्यार्थीको भनाई छ । ‘सुरुमा म माओवादीको मान्छे हो, माओवादीको सरकार छ, मेरो मन्त्रालयमा मन्त्रीसम्मै सेटिङ छ, एनओसी चुट्कीको भरमा बन्छ भनेर सुरुमा फकाएर पैसा लियो ।’, एक अर्का विद्यार्थीले भने, ‘तर लामो समयसम्म भिसा नलागेपछि हामीले पैसा फिर्ता मागेका थियौं । हाम्रो पैसा फिर्ता दिन आनाकानी गरेपछि मन्त्रालयमा उजुरी समेत दिएका छौं ।’

विद्यार्थीले आफूहरु ठगीएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी गरेका छन् । मन्त्रालयमा परेको उजुरीको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले अनुसन्धान गरिरहेको छ । सुमन अधिकारीविरुद्ध परेको उजुरी छानविनका लागि मन्त्रालयले शाखालाई पत्रचार गरेको शाखा प्रमुख मन्जु अधिकारीले बताइन् ।

‘मन्त्रालयमा उजुरी परेको रहेछ, छानविनका लागि मन्त्रालयले हामीलाई पत्राचार गरेको छ । हामीले यसका लागि छानविन समिति बनाएका छौं । छानविन समितिले अध्ययन गरिरहेको छ ।’, अधिकारीले भनिन्, ‘छानविन समितिको निश्कर्ष वेगर हामीले केही पनि बोल्न मिल्दैन । छानविन पछिको निश्कर्ष मात्रै सार्वजनिक गर्न हामीलाई निर्देशन छ ।’ अधिकारीले जेभियरले छानविनमा पनि असहयोग गरेको बताइन् ।

‘हामीले बिहीबार जेभियरका प्रतिनिधिलाई छलफलका लागि बोलाएका थियौं । त्यसको मुख्य संचालक आउनु भएन ।’, मोटिभेट न्यूज डटकमसँगको टेलिफोन संबादमा उनले भनिन्, ‘कार्यालय खोल्ने र बन्द गर्ने स्टाप हुँ भन्दै एक जना भाई आउनु भएको थियो । उहाँलाई राम्रोसँग नेपाली पनि बोल्न आउने रहेनछ । उहाँहरुले हामीलाई छानविनमा पनि असहयोग गरिरहनु भएको छ ।’

यता जेभियरका संचालक सुमन अधिकारीले आफूले कसैसँग पनि पैसा नउठाएको बताएका छन् । ‘म पोखरामा छु सर । हाम्रो कन्सल्टेन्सीले कुनै पनि विद्यार्थीसँग पैसा उठाएको छैन । तपाईंले भनेको जस्तो पैसा उठाएको भए त म कहाँ यसरी हिड्थें !’, उनले भने, ‘हामीले साइप्रसमा अध्ययनका लागि विद्यार्थी पठाउने काम गर्छौं । तर त्यसरी पैसा उठाएर ठगी भने गरेका छैनौं ।’

श्रोतका अनुसार अधिकारीले काठमाडौंको बालाजुमा हालसालै घर किनेका छन् । ‘विद्यार्थीबाट उठाएको पैसाले बालाजुमा घर किनेको छ । बाहिरी हल्ला अनुसार १० करोडमा किनेको भन्ने छ ।’, श्रोतले भन्यो, ‘लग्जरिएस गाडि पनि किनेका छन् । काठमाडौंको चावहिलमा ५० लाख खर्च गरेर नयाँ कार्यालय स्थापना गरेको छ । आजभोली त्यो कार्यालयमा पैसा माग्न आउने विद्यार्थीहरुको भिड देख्न सकिन्छ ।’