समाजवादी मोर्चा नेपाल सुर्खेतको संयोजकमा राना
सुर्खेत – राष्टिय स्वाधीनताकाे रक्षा र संसदीय व्यवस्थाको विकल्पको रूपमा समाजवादी व्यवस्था निर्माणको उदेश्यसहित निर्माण गरिएको समाजवादी मोर्चा नेपालले माओवादी केन्द्रका जीत बहादुर रानाको संयोजकत्वमा सुर्खेतमा मोर्चाकाे घोषणा गरेको छ। शनिबार सुर्खेतमा आयोजित एक कार्यक्रमबिच जिल्ला स्तरीय मोर्चाको संरचना निर्माण गरिएको नेकपा नेता जीत सीले जानकारी दिएका छन।
घोषणा सभाले माओवादी केन्द्रका टोप बहादुर दर्लामी, नेकपा एकीकृत समाजवादीबाट टोप बहादुर राष्कोटी र खड्क के सी, नेपाल कम्युनिस्ट पार्टीबाट जीत सी र योजना सी, जनता समाजवादीबाट दीप बहादुर नेपाली र गंगा देवकोटालाई सदस्यमा चयन गरेको छ भने मोर्चाको नेतृत्व ४/४ महिनामा चकृय प्रणाली अनुसार हेरफेर गरिने प्रावधान राखिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा स्थायी समिति सदस्य भरत सी, नेकपा केन्द्रिय सदस्य तथा मध्ये कर्णाली ब्युरो इन्चार्ज विवेक सी, नेकपा( एस) केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सह इन्चार्ज कुलदीप भट्ट र जसपा कर्णाली प्रदेश उपाध्यक्ष रघुवीर मिजारको समेत सहभागिता रहेको थियो।
जिल्ला समन्वय समिति सुर्खेतको हलमा आयोजित घोषणा कार्यक्रममा जसपा सुर्खेत जिल्ला अध्यक्ष दीप बहादुर नेपालीले मन्तव्यद्वारा स्वागत गरेका थिए भने उक्त कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज ध्रुव सीले धन्यवाद मन्तव्य राखेका थिए।
