अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन सकेनः विष्णुप्रसाद पौडेल

आइतबार, २८ असोज २०८०

काठमाडौं— ​नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन नसकेको टिप्पणी गरेका छन् ।

आइतबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । पौडेलले मुलुकमा संकटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्ने विषयमै केन्द्रित रहेको आरोप लगाए ।

‘मुलुकको अर्थतन्त्रको अपरेसन गर्नुपर्नेमा सरकारले सिटामोल पनि दिन नसकेको अवस्था छ, मेजर अपरेसन गर्नपर्नेछ, सिटामोल छैन, अनि चल्छ रु अर्थतन्त्रको बेथितिलाई यो सरकारले अझै बढाएको छ, नेपाल कालोधनको केन्द्र बन्दैछ, राजस्वबाट साधारण खर्च चल्न सकेको छैन । आन्तरिक ऋण बढ्दैछ, तलब, सामाजिक सुरक्षा कोष, पेन्सन रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ’ पौडेलले भने ।

प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र सुधार हुँदैछ भनेर गलत बोलिरहेको उनको दाबी छ ।

‘अन्तर्राष्ट्रिय सहयोग तल झरेको छ । पूँजी पलयान भइरहेको छ, व्यवसायीको ढाड भाँच्ने अवस्था सृजना हुँदा पनि सरकार मुकदर्शक बनेको छ’, पौडेलले थपे ।