पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न माधव नेपालले दिए चुनौती
काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन्।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिए।
उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए। उनले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए।
उनले भने, ‘विगतमा उनीहरूले कसरी यो मुलुक चलाएका थिए, तिनीहरूका पनि हामीलाई एकरएक कुराहरू सबै थाहा छ। त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होसियार हुनुपर्छ। कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन। भक्तपुरमा यो आवाज अझै गुञ्जाउनुपर्छ, किनभने भक्तपुरबाट नै संकेत दिन खोजियो। झापाले त्यो आवाज उठाउनुपर्छ, झापाले नि संकेत दिन खोज्यो। अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो। जनताले सिधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए। अरूलाई पनि लाग्छ भने पार्टी बनाउन आऊन्, चुनावमा सामेल होऊन्। असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ।’
‘दुःख उठाउन कहिले जानेको छैन, सुखमा जन्मियो, हुर्कियो, अनि जनतालाई भ्रममा राख्ने कोसिस सफल हुनेछैन। हामी अहिले देशका समस्या पहिचान गर्ने कुरामा अघि बढेका छौं। यो गठबन्धन ५ वर्षको लागि हामीले बनाएका छौं, यसलाई भत्काउने अनेक कोशिस भइरहेका छन् । ति कुनै कोशिस सफल हुनेवाला छैनन् । यो गठबन्धनको सरकार एकतावद्ध भएर नै अघि बढ्नेछ ।’
अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए। उनले गठबन्धन भत्काउने कोसिस कुनै पनि हालतमा सफल नहुने बताए।