कोशी प्रदेशमा दसैँ अगाडि मन्त्रिमण्डल विस्तार नहुने सङ्केत
काठमाडौं – संविधानको धारा १६८ को ९५० अनुसार नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दसैँ अगाडि सरकार विस्तार नगर्ने मनसाय राखेको देखिएको छ । तर, उनलाई मुख्यमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमाले भने दसैँ अगाडि नै मन्त्रीमण्डल विस्तार गर्नुपर्ने भन्दै दबाब दिइरहेको बुझिएको छ । सोही दबाब छल्न राजनीतिक छलफलका लागि भन्दै विश्वासको मत लिए लगत्तै बुधबार काठमाडौँ लागेका मुख्यमन्त्री कार्की आज विराटनगर फर्किँदै छन् ।
मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार मुख्यमन्त्री कार्की आज साँझ ५ बजेपछि विराटनगर आउन लागेका हुन् । एमालेले भने हिजो आज (शुक्रबार) नै सरकारमा नयाँ मन्त्री पठाउनु पर्ने दबाब दिँदै आएको थियो ।
‘दसैँको मुखमा एउटा मन्त्री बनाउँदा अर्को रिसाउने, अर्को बनाए अर्को रिसाउने अवस्था देखेपछि मुख्यमन्त्रीज्यूले दसैँपछाडि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने मनसाय राख्नुभएको छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘सहमतिको सरकार गठनका लागि उहाँ सबै दलसँग छलफल गरिरहनु भएको छ ।’