२०२३ सुरु भएदेखि हालसम्म ४० हजार नाघे डेंगु संक्रमित
काठमाडौं – काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ ।
डेंगुको संक्रमणको जोखिम केही जिल्लाहरूमा अझै बढ्न सक्ने विज्ञको अनुमान छ । गत वर्ष काठमाडौं उपत्यकामा महामारीको रूप लिएको डेंगु केही दिनयता उपत्यकासहित केही जिल्लामा बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।
यो वर्ष सबैभन्दा धेरै डेंगुबाट प्रभावित भएका सुनसरी, झापा, धादिङ, मोरङलगायत जिल्लामा संक्रमणदर घट्दै गएको छ । तर, गोरखा, कास्की, तनहुँ, काठमाडौंमा भने बढ्दै गएको छ ।
महाशाखाको तथ्यांक अनुसार यसवर्ष डेंगु संक्रमण ७६ जिल्लामा देखिसकेको छ । डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने खालको रोग भए पनि यो सरुवा रोगभित्र नै पर्छ । डेंगु संक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेर सोही लामखुट्टेले अर्को व्यक्तिलाई पनि टोकेमा डेंगुको संक्रमण अर्को व्यक्तिमा पनि हुन्छ ।
विज्ञहरु दसैंको समयमा डेंगु प्रभावित क्षेत्रबाट गाँउघरमा फर्किनेहरु बढी हुँदा डेंगु नफैलिएको क्षेत्रमा पनि डेंगु बढ्सक्ने सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् ।
‘स्थानीय ठाउँमा रहेको लामखुट्टे वृद्धि–विकास भइरहेको रहेको ठाउँ बढि जोखिममा हुन्छ’, डा. पुन भन्छन्, ‘भखरै संक्रमित भएका बिरामीको शरीरमा भाइरस रहिरहेको हुन्छ । स्थानीय लामखुट्टेले बिरामीलाई टोक्दा लामखुट्टे पहिला संक्रमित भएर अन्य व्यक्तिलाई संक्रमण गराउन सक्छ ।’
सन् २०२३ सुरु भएदेखि हालसम्म ४० हजार ५३१ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, संक्रमणका कारण हालसम्म २० जनाले ज्यान गुमाइसकेका छन् । महाशाखाको पछिल्लो तथ्यांक हेर्ने हो भने संक्रमणदर विस्तारै बढेको देखिन्छ । अहिले डेंगु मिल्दा जुल्दा लक्षण लिएर अस्पताल पुग्नेहरूको संख्या कायमै रहेको डा पुन बताउँछन् ।