धर्मेन्द्र बाँस्तोलालाई आज अदालत उपस्थित गराइने
काठमाडौं— नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई १३ दिनपछि आज अदालत उपस्थित गराइने भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीको अनुसार उनलाई आज अदालत उपस्थित गराउन लागिएको हो। आइतबार बाँस्तोलालाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लगिएको थियो। सरकारी वकिल कार्यालयमार्फत् बाँस्तोलालाई सोमबार अदालत उपस्थित गराउन लागिएको हो।
अदालतले अनुमति दिएमा बाँस्तोला सोमबार छुट्न पनि सक्छन्। गत कात्तिक २ गतेदेखि बाँस्तोला प्रहरी नियन्त्रणमा छन्। दसैं बिदाका कारण बाँस्तोलालाई १३ दिनपछि अदालत उपस्थित गराउन लागिएको हो।
नेता बाँस्तोलाले चलाएको गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।
बाँस्तोला त्यसबेला सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ तर्फ जाँदै थिए।