संविधान असफल बनाउने छुट कसैलाई छैनः रमेश लेखक
काठमाडौं— नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अहिलेको संविधान असफल बनाउने छुट कसैलाई नभएको बताएका छन् ।
बिहीबार संघीय संसदको चालु अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यदि यो संविधान असफल भयो भने मुलुक ठीक ठाउँमा पुग्दैन । त्यसो भएकाले पनि यो संविधान निर्माण गर्नेहरु एक ठाउँमा उभिन जरुरी छ,’ उनी थप्छन्, ‘यो संविधान असफल गर्ने छुट हामीसँग छैन । यदि यो संविधान असफल भयो भने मुलुक एउटा अत्यन्त अनिष्टकारी खतरा, अप्ठ्यारो, विषम परिस्थितिमा पुग्न सक्छ ।’
उनले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु बनाउन नसक्दा गणतन्त्र र संविधानविरुद्ध प्रायोजित रुपमा धारणा राख्नेहरुलाई बल पुगेको पनि टिप्पणी गरे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा यदाकदा प्रायोजित रुपमा आवाजहरु उठाइने गरेको छ । यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठीक हुन् भन्ने राजनीतिक भाष्य निर्माण गर्न खोजिँदैछ,’ प्रमुख सचेतक लेखकले भनेका छन् ।
मुलुकमा धेरै राजनीतिक संघर्ष, क्रान्तिहरु, बलिदानहरु, ठूला–ठूला योगदानहरु, राजनीतिक अभियानहरु र ७० वर्ष लामो राजनीतिक यात्राबाट प्राप्त भएको संविधान असफल हुने स्थिति आयो भने मुलुकलाई राम्रो नगर्ने उल्लेख गर्दै उनले संविधान सफल गर्नु संसदको समेत दायित्व भएको बताए ।