अहिलेको व्यवस्थामाथि बढ्दै गएको भ्रमलाई सबै मिलेर चिर्नुपर्छः प्रधानमन्त्री

शुक्रबार, १७ कार्तिक २०८०

काठमाडौं— प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको व्यवस्थामाथि बढ्दै गएको भ्रमलाई सबै मिलेर चिर्नुपर्ने बताएका छन् ।

बुटवलमा पार्टीको लुम्बिनी प्रदेश समिति स्कुल विभागले बिहीबार आयोजना गरेको प्रदेशस्तरीय आधारभूत स्कुलिङ प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रचण्डले गणतन्त्र उल्टाउने सपना देख्नेहरु सलबलाउन थालेको बताए ।

उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशलाई अस्थिर बनाउने षड्यन्त्र असफल पारिने दाबीसमेत गरे ।

गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ । त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ । तर, हामी परिवर्तनको रक्षा गर्न १२बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौं ।’

उनले आजभोलि दार्शनिक एवं सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको बताए । ‘विचारको पक्षमा चिन्तनमनन कमजोर भएको छ । त्यसको प्रत्यक्ष फाइदा व्यवस्थाविरोधीहरूले उठाउन ख‍ोज्दैछन् । तसर्थ विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ’, प्रचण्डले भने, ‘हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रूचि थिय‍ो । त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थितिअनुसार अगाडि बढ्न उत्प्रेरित पनि गर्थ्यो ।’

पार्टी विभाजित हुँदा माओवादी कमजोर भएको र प्रतिक्रान्तिहरूको मनोबल उठ्न थालेको भन्दै उनले त्यसलाई चिर्न रूपान्तरणका साथ अगाडि बढ्नुको विकल्प नभएको औंल्याए ।

‘रूपान्तरण नेताहरूबाट हुनुपर्छ, अरूलाई उपदेश दिएर हुँदैन’ उनले भने, ‘गणतन्त्र, संघीयताको रक्षा हामीले मात्रै गर्न सक्छौं, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन । माओवादी कमजोर भए संविधानमात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ । पछिल्लो समय धरान, नेपालगञ्ज, सर्लाहीलगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन । गणतन्त्र नै उल्टाएपछि संघीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्राउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ । यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ ।’

परिवर्तनका पक्षधर सबै राजनीतिक शक्ति एक ठाउँ उभिएर प्रतिगामी षड्यन्त्र परास्त गर्नेबारे दलहरूबीच छलफल चलिरहेको उनले सुनाए ।

‘केही दिनमा बैठक बसेर ठोस समीक्षासहित अगाडि बढ्छौं’, दाहालले भने, ‘भूराजनीतिक दृष्टिले विश्वका महाशक्तिको दबाबमा हामी छौं । हाम्रा कारणले होइन महाशक्ति राष्ट्रहरूको शक्ति संघर्षको चेपुवामा हामी पर्नसक्ने खतरा छ । रूस–युक्रेन, इजरायल(हमास युद्ध र विश्वव्यापी परिघटना हेर्दा परिस्थिति ध्रुवीकरणतर्फ गएको छ । तसर्थ, नेपालले सन्तुलित र परिपक्व कूटनीतिक बाटो लिनुपर्छ । त्यसमा सरकारले सकारात्मक पहल लिएको छ । संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा हाम्रो पहल उत्कर्षमा पुगेको छ ।’

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरूले बाँचुञ्जेल परीक्षा दिनुपर्ने बताए । ‘म पनि परीक्षामा छु, तपाईंहरू पनि परीक्षामा हुनुहुन्छ । यसपटक सरकारले निकै विवेक र दृढताका साथ कदम चालेको छ । भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, भूमाफियाहरूलाई कारबाही, कूटनीतिक सन्तुलनलगायतका जति काम गरिएको छ, तिनीहरूको रणनीतिक महत्त्व छ’, उनले भने, ‘अहिले नै उत्पात, चमत्कार गर्न सकिँदैनथ्यो । हामी गठबन्धनमा छौं, त्यसका सीमा र जटिलताहरू पनि छन् ।’

सरकारमा रहेका पार्टीहरु सडक जाने भनेको जनतालाई प्रशिक्षित गर्न भएको उनले बताए । ‘सडक कब्जा गर्ने भनेको जनतालाई प्रशिक्षित गर्न खोजेको हो । अर्को भाषामा भन्ने हो भने सडक कब्जा पनि हो । के हामीले ज्ञानेन्द्रलाई सडक छाडिदिनु पर्ने हो?’, प्रचण्डको प्रश्न छ ।

उनले काठमाडौंमा नेताहरूबीच सल्लाह गरेर नै वडा र पालिकास्तरका जनतालाई व्यापक परिचालन गरेर संविधान, लोकतन्त्र र माओवादीको रुपन्तारणको पक्षमा सम्झाउने बुझाउने तयारी भएको बताए ।

आफू प्रधानमन्त्री भएपछि देशमा सुशासन, न्याय र समृद्धिका कामहरु भएको दाबी गर्दै उनले ‘प्रचण्ड चाहिन्छ’ भन्ने पुष्टि भएको जिकिर गरे ।