रिक्त रहेको सभामुख चयन तत्काल गर्न कोशीका सांसदहरुको माग

सोमबार, २० कार्तिक २०८०

काठमाडौं— कोशी प्रदेश सभाका सांसदहरुले रिक्त रहेको सभामुख चयन तत्काल गर्न माग गरेका छन्।

सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले प्रदेशसभाको नेतृत्व लामो समयदेखि रिक्त राख्न नहुने भन्दै तत्काल सभामुख चयन गर्न माग गरेका हुन्।

शून्य समयमा बोल्ने काँग्रेसका सांसदहरु गोपाल तामाङ, मैया श्रेष्ठ, इन्दिरा थापा, शोभा चेम्जोङ, राप्रपाका गोपाल विश्वकर्मा लगायतका सांसदहरुले सभामुख चयनमा ढिलाई गर्दा प्रदेशसभाको प्रभावकारितामामै असर परेको उल्लेख गरे।

तत्कालीन सभामुख बाबुराम गौतमले काँग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन राजीनामा दिएका थिए। लगत्तै उनी मन्त्री बनेका थिए। भदौ ४ मा थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको फैसला गरेपछि थापा पदमुक्त बनेका थिए।

साउन १६ यता कोशी प्रदेशसभा सभामुखविहीन छ। उपसभामुख सृजना दनुवारले प्रदेशसभा सन्चालन गर्दै आएकी छन्।

यसअघि संघीय संसद्मा संसदीय समितिहरु बन्ने बेलामा सत्ता गठबन्धनले केन्द्रमा एउटा समिति सभापति र कोशीमा सभामुख राप्रपालाई दिने र राप्रपाले कोशीमा गठबन्धनलाई सघाउने सहमति बनेको थियो।

गठबन्धनका नेताहरुका अनुसार सोही सहमति अनुसार प्रदेशमा सभामुख राप्रपालाई दिने तयारी भइरहेको बताउँछन्। कोशी प्रदेशसभामा सभामुख र संसदीय समितिहरुका सभापतिहरु अझै छानिएका छैनन्।

यही सहमति अनुसार सत्ता गठबन्धन र राप्रपाका सांसदहरुले सदनमा सभामुखको खोजी गरिरहँदा एमाले भने यसबारे मौन देखिएको छ। सभामुख चयन गर्दा आफ्नो भागमा नपर्ने संकेत पाएको एमाले सभामुख चयनबारे बोलेको छैन।