गरिब र दुर्गमका भूकम्पपीडितलाई राहतमा पहिलो प्राथमकिता: प्रधानमन्त्री

सोमबार, २० कार्तिक २०८०

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएका सबैलाई राहत पुर्‍याउन सरकार प्रयासरत रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपभासपति डोलप्रसाद अर्यालको नेतृत्वमा सोमबार सिंहदरबार पुगेको टोलीसँग प्रधानमन्त्रीले यस्तो भनेका हुन् ।

त्यस क्रममा रास्वपा टोलीले विभिन्न ६ बुँदा समेटिएको ध्यानाकर्षण पत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ।

‘सुझाव र सहयोगको लागि रास्वपालाई धन्यवाद!मैले तपाईंहरुले उठाएका सुझाव करिबकरिब क्याबिनेट र विपद् प्राधिकरणबाट निर्णय गराएको छु’, उनले भने, ‘सबैभन्दा टाढा र सबैभन्दा गरिवलाई पहिलो प्राथमिकता भन्ने मेरो निर्देशन र तपाईंहरुको भावना मिल्यो।’

उक्त भेटका क्रममा रास्वपा टोलीले जाजरकोट, रूकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई राहत वितरणमा कोही नछुट्ने गरी एकद्वार प्रणाली अपनाउन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन्।