कांग्रेसले भूकम्प प्रभावितको अस्थायी टहरा बनाउन दक्ष मिस्त्रीसहित स्वयम् सेवक पठाउने

मंगलबार, ५ मंसिर २०८०

काठमाडौं – नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित परिवारका लागि अस्थायी घर टहरा निर्माण गर्न स्वयम् सेवक पठाउने भएको छ ।

महामन्त्री गगनकुमार थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि १०-१० जनाको १३ वटा समूह भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो ।

यो समूहले एक हप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरु परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।